सूचनाको शक्ति - The Power Of Information

        

८७ प्रतिशत खेतमा मात्रै रोपाई

धान उत्पादन घट्ने, खाद्य असुरक्षाको जोखिम

कर्णाली र सुदूरपश्चिमका अधिकांश खेतमा भने रोपाई सकिएको छ ।

प्रमुख कृषि बाली धानको उत्पादन यो वर्ष घट्न सक्ने आँकलन गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धान रोपाईको मौसम सकिन लाग्दा समेत झण्डै दुई लाख हेक्टर खेतमा अझै रोपाई हुन सकेको छैन ।

मन्त्रालयका अनुसार, साउन २६ सम्म देशका ८७ प्रतिशत खेतमा मात्रै रोपाई सकिएको छ । गत वर्ष साउन २८ सम्म ९४ प्रतिशत खेतमा रोपाई सकिएको थियो । सामान्यतयाः साउन मसान्तसम्म धान रोपाई हुन्छ । तर, धान रोपाई जति ढिला भयो उति उत्पादन घट्ने सम्भावना हुन्छ ।

देशको कुल धान उत्पादनको एक चौथाई हिस्सा ओगट्ने मधेश प्रदेशका एक तिहाई खेतमा अझै धान रोपाई सकिएको छैन । मधेशका ३२ प्रतिशत खेत अझै बाँझै छन् । मन्त्रालयका अनुसार, मधेशको चार लाख एक हजार ६५० हेक्टर खेतमध्ये दुई लाख ७१ हजार ५९० हेक्टरमा मात्रै धान रोपाई सकिएको छ ।

गत वर्षको यही अवधिमा यो वर्षभन्दा एक लाख हेक्टर बढी खेतमा धान रोपाई सकिएको थियो । यो वर्ष कोशीको ६ प्रतिशत, बागमतीको १२ प्रतिशत, गण्डकी र लुम्बिनीको ७–७ प्रतिशत खेतमा अझै रोपाई सकिएको छैन । कर्णाली र सुदूरपश्चिमका अधिकांश खेतमा भने रोपाई सकिएको छ ।
यो वर्ष मनसुन सक्रिय हुन ढिला भएको तथा गाईगोरुमा लाग्ने लम्पी स्किन रोगका कारण रोपाई ढिला भएको मन्त्रालयले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष करीब एक साता ढिलो १४ जुनमा मनसुनी वायु नेपाल प्रवेश गरेको थियो । खासगरी, कमजोर मनसुनका कारण तराईमा पानी कम पर्दा धान रोपाई ढिला हुन पुगेको हो ।

नेपालमा अधिकांश किसान खेती गर्न आकाशे पानीमा निर्भर छन् । अर्कातिर, गाईगोरुको छालामा लाग्ने लम्पी स्किन रोगका कारण देशका हजारौं गाईगोरु मरेका छन् । पशु सेवा विभागका अनुसार, १३ लाख पाँच हजार पशुमा लम्पी स्किन रोग लागेको र यसमध्ये ४७ हजारभन्दा बढी पशु मरेका छन् । खेत जोत्ने गोरु मर्दा र बिरामी पर्दा रोपाईमा असर पुगेको कृषि विभागकी प्रवक्ता जानुका पण्डितले बताइन् ।

कृषि मन्त्रालयका अनुसार, नेपालमा १४ लाख ८८ हजार हेक्टर खेतमा धान रोपाई हुन्छ । यसमध्ये १२ लाख ९२ हजार हेक्टर खेतमा मात्रै धान रोपाई सकिएको छ । मन्त्रालयले साउन मसान्तसम्म ९२ देखि ९५ प्रतिशत खेतमा धान रोपाई हुनसक्ने बताएको छ ।

कृषि मन्त्रालयका पूर्व सचिव तथा नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष योगेन्द्रकुमार कार्की यो वर्ष करीब डेढ लाख हेक्टरसम्म खेत बाँझै रहनसक्ने आकलन गर्छन् । त्यसो हुँदा करीब पाँच लाख मेट्रिक टनसम्म धान उत्पादन घट्नसक्ने कार्कीको भनाइ छ । ‘धान उत्पादन पाँच लाख मेट्रिक टन घट्नु डरलाग्दो स्थिति हो,’ उनी भन्छन्, ‘खाद्य सुरक्षा सुनिश्चित गर्न विभिन्न विकल्पमा काम शुरू गर्नुपर्छ ।’

मौसम सामान्य भएर धान मनग्ये फलेको वर्ष पनि नेपालले धान चामल आयात गर्नुपर्छ । गत आर्थिक वर्ष २०७९–०८० मा ५४ लाख ८६ हजार टन धान फलेको कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्याङ्क छ । अहिलेसम्मकै सर्वाधिक धान आर्थिक वर्ष २०७७–०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन फलेको थियो ।
नेपालमा वार्षिक ७० लाख मेट्रिक टन हाराहारीमा धान खपत हुने भएकाले थप आवश्यक धानचामल भारतबाट आयात हुँदै आएको छ । यो वर्ष भारतले बासमतीबाहेकका चामल निर्यातमा प्रतिबन्धको घोषणा गरिसकेको छ । यो प्रतिबन्धका बावजूद नेपाललाई आवश्यक थप चामल निर्यातलाई फुकुवा गरिदिन अधिकारीले भारत सरकारसमक्ष अनुरोध गरेका छन् ।

भारतले चामल निर्यातमा प्रतिबन्धको घोषणा गरे लगत्तै बजारमा चामलको मूल्य भने कम्तीमा १० प्रतिशतले बढिसकेको छ । भारतले चामल निर्यातमा रोक लगाएकै वेला खेतमा धान रोपाई समेत सुस्त हुँदा यो वर्ष चामलको आपूर्तिमा बाधा पुग्ने सम्भावना रहेको र त्यसले खाद्य सुरक्षामा असर गर्ने कृषि अर्थशास्त्र समाजका अध्यक्ष कार्की बताउँछन् ।

उनले चामलको आपूर्तिको व्यवधानसँग जुध्न चामलको खपत कम गर्नुपर्ने तथा चैते धानको उत्पादन बढाउन अहिलेदेखि तयारी थाल्नुपर्ने बताउँन् । ‘नागरिकलाई एक छाक भात खाएर अर्को छाक अरु अन्न खान सरकारले प्रेरित गर्नुपर्छ,’ कार्की भन्छन्, ‘हिउँदे धानको उत्पादन बढाउन अहिलेदेखि तयारी गर्नुपर्छ ।’ उनी धानको उत्पादन धेरै घट्न नदिन किसानका खेतमा युरिया मलको आपूर्ति सहज बनाउनतिर सरकार चनाखो हुनुपर्ने बताउँछन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १३:५४