सूचनाको शक्ति - The Power Of Information

        

साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको भीड

यो वर्षको साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालयहरूमा दर्शनार्थी भक्तजनको घुइँचो छ । यो वर्ष साउनमा पाँच सोमबार परेको थियो ।

साउन र सोमबार भगवान् शिवको महिना र बार भएको मान्यताअनुसार प्रत्येक वर्ष यो समयमा शिवालयमा भक्तजनको घुइँचो हुने गर्छ । साउनको सोमबार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने जनविश्वास छ ।

भक्तजनले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्छन् ।

साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरूले आज गौदान, पूर्णपात्र लगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् । आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १२:१६