सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपालले भने, ‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन’

नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले आफू पूर्व निर्धारित कार्यक्रमअनुसार युरोप भ्रमणमा गएका बेला माधव नेपाल भाग्यो भनेर समाचारहरु प्रकाशित भएकोमा चित्त दुखाएका छन् ।

सोमबार युरोपबाट नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले माधव नेपाल भाग्ने खालको मान्छे नभएको प्रस्ट्याए । साथै उनले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए ।

‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ’, पूर्व प्रधानमन्त्री नेपालले भने, ‘बालुवाटार जग्गा प्रकरणमा केही कमजोरी भएको छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ ।’ अध्यक्ष नेपालले आफूले कुनै अपराध नगरेकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम जोडिए पनि संलग्नता नरहेको दाबी गरे ।

‘कतिपयले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन । गोली खाँदा त नभाग्ने, राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्छे म । कुनै गल्ती अपराध र बदमासी नगरेको सन्दर्भमा ’, उनले भने, ‘कुनैपनि कानुनको प्रक्रिया अन्तर्गत प्रोसेसहरु अघि बढ्छन् ।’

अध्यक्ष नेपालले आफू लतारिएर स्वदेश नफर्केको पनि बताए । आफू युरोप जाने तयारीमा रहनु र सर्वोच्चको आदेश काकतालि जस्तै भएको पनि उनले सुनाए । उनले देशको परिस्थितले गर्दा आफू दुई देशको भ्रमण छोट्याएर फर्किएको भन्दै कुनै खास खास बेलामा नेताहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) लगायतका युरोपेली मुलुकको भ्रमणमा निस्किएका थिए । तर साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १२:०२