सूचनाको शक्ति - The Power Of Information

        

मर्मतपछि ९० लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित

गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार २९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।

ती आयोजनाबाट १५ हजार ४४० घरधुरी लाभान्वित भएको मन्त्रालयको ऊर्जा शाखाका ई.जीवन श्रेष्ठले बताए । उनका अनुसार प्रदेशमा झण्डै ४०० लघु जलविद्युत् आयोजना छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत ३७१ र बाँकी अरु संस्थाले निर्माण गरेका आयोजना छन् ।

सौर्य ऊर्जा र लघु जलविद्युतबाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको छ । प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाटको भीमताङ लघु जलविद्युत् आयोजना निर्माण गरिरहेको ई.श्रेष्ठले जानकारी दिए ।

९८ किलोवाटको स्याङ्जाको पुतपुते खोला लघु जलविद्युत् आयोजनाको बिजुली पनि गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि बागलुङ लगायत जिल्लाका केही लघु जलविद्युत् आयोजना बन्द भएका छन् ।

केही मर्मत सम्भारको पर्खाइमा छन् । ती आयोजनाको बिजुलीलाई मिनिग्रिड बनाएर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना पनि अलपत्र परेको छ । राष्ट्रिय प्रसारण लाइन र नवीकरणकीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको ई.श्रेष्ठले बताए ।

प्रदेश सरकारले चालु आवभित्रैमा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारी अघि बढाएको छ । बाँकी रहेका शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुर्याउने कार्य भइरहेको जनाइएको छ । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार दुई हजार ८८४ घरधुरीमा मात्र विद्युत् नपुगेको देखिएको ई.श्रेष्ठले बताए ।

बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पुर्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । ऊर्जा शाखाका अनुसार पाँच लाख ७४ हजार ७९८ घरधुरी विद्युत् सेवाको पहुँचमा छन् । जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघु जलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ ।

राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार २०५ घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ । संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कूल १६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १०:३४