मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा हिजो साँझ बाढीले १० घरसहित प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो ।
बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर, होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बताए ।
‘कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन,’ उनले भने, ‘बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ ।’ मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीचभागमा छ ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध भएको छ ।
विद्युतका पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।
सत्यपाटी संवाददाता । मुस्ताङ