सूचनाको शक्ति - The Power Of Information

        

चार बर्षदेखि दैलेखमा थन्काइयो भेन्टिलेटर

कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेखमा जटिल खालका बिरामीको उपचारका लागि सघन उपचार केन्द्रमा भेन्टिलेटर जडान गरियो । लाखौँ रकम खर्च गरी ल्याइएका पाँच आइसियु शय्यामध्ये दुई आइसियु अहिलेसम्म प्रयोगमा नआइ थन्किएका छन् ।

आइसियु र भेन्टिलेटर कक्षको व्यवस्थापछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका यहाँका नागरिक अहिले पनि जटिल खालका रोगको उपचार गर्न भने बाहिरी जिल्ला जानुपर्ने बाध्यतामा छन् । लाखौँ रकम खर्चेर ल्याइएको आइसियु र भेन्टिलेटर भौतिक संरचना तथा बजेट अभाव देखाउँदै चार वर्षदेखि थन्क्याइएको छ ।

तत्कालीन स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा नीरञ्जन पन्तका पालामा २०७७ वैशाखमा भेन्टिलेटर र आइसियुका लागि उपकरण खरिद गरिए पनि अहिलेसम्म प्रयोगमा नआइ थन्किएको हो । हाल स्वास्थ्य सेवा कार्यालयमा निमित्त स्वास्थ्य व्यवस्थापक डा धर्मराज रेग्मीले यही जनशक्तिले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसक्ने बताए ।

उनले भने, ‘यस कार्यालयमा सात विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको र दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् ।’ आफू पनि स्त्रीरोग विशेषज्ञ भएकाले सेवा लिन आउने महिलालाई बाहिर पठाउन परेको जानकारी दिए । हाल अस्पतालमा ६१ कर्मचारीको दरबन्दी रहेकामा २६ कर्मचारीको पद रिक्त छ ।

जिल्ला अस्पतालमा हाल कार्यरत नौ मेडिकल अधिकृतमध्ये दुईजना मात्र स्थायी रहेको जनाइएको छ । अन्य आठ जना मेडिकल अधिकृत छात्रवृत्ति र करारका रहेका निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले बताए । उनले भने, ‘स्वास्थ्य सेवा कार्यालयमा उपचार गर्न आउने अधिकांश बिरामी श्वासप्रश्वासको समस्याका हुन्छन् । हामीसँग भएको अक्सिजनको माध्यमबाट उपचार त गर्छौँ तर बचाउन निकै समस्या भएको छ ।’

भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्तिको समस्या भएको उनको छ । उक्त कार्यालयमा श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आइए पनि जटिल खालका बिरामी भने प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुग्ने गरेका देखिन्छन् । प्रदेश सरकारमातहत जिल्ला अस्पतालले दिने सेवालगायत कुरामा नागरिकले प्रश्न उठाउँदै आएका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : २८ श्रावण २०८०, आइतवार १४:५१