सूचनाको शक्ति - The Power Of Information

        

लड्ने योद्धाको कथा

बन्द ढोकाभित्र दुई वयस्कबीच हुने सम्बन्ध कसरी समाजको विषय हुन्छ ?

यस सिनेमाले सत्य घटनामा आधारित, आफ्नो पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भनेर लड्ने योद्धाको कथा भनेको छ ।

भारतीय राज्य उत्तर प्रदेशको अलिगढमा अलिगढ मुस्लिम विश्वविद्यालय छ । उक्त विश्वविद्यालयमा मुस्लिम धर्म तथा उर्दु भाषाका बारेमा अध्ययन अध्यापन गरिन्छ । मुस्लिम बाहुल्य उक्त समाजमा एक जना प्रोफेसरले मराठी भाषा पढाएको कुरा त्यहाँका ठालुहरूको सानो चित्तमा बिझाइ रहेको हुन्छ । उर्दु भाषामा संस्कृतको तत्सम शब्द न्यून छ र अरबी–फारसी र संस्कृतबाट तद्भव शब्द धेरै रहेको छ ।

दक्षिण एसियामा बोलिने यो भाषा भारतको शासकीय भाषाहरू मध्ये एक हो र पाकिस्तानको राष्ट्रभाषा पनि हो । मराठी भारतको महाराष्ट्र प्रान्तमा बोलिने सबैभन्दा मुख्य भाषा हो । भाषा परिवारको आधारमा यो एक आर्य भाषा हो जसको विकास संस्कृतबाट भएको हो । तर, यो सिनेमा भाषाको कथा होइन । यो सिनेमा भाषा अध्यापन गराउने एक जना प्रोफेसरको सम्मानपूर्वक बाच्न पाउने अधिकारको संघर्षको कथा हो ।

यो कथाको घटनास्थल अलिगढ विश्वविद्यालयलाई आँखिझ्याल मानेर हेर्ने हो भने, त्यहाँबाट समग्र भारतको चित्र देख्न सकिन्छ । यस्तो चित्र जहाँ पर्खालहरू मात्र छन् । लिङ्ग तथा यौनिकताको आधारमा, धर्मको आधारमा, भाषाको आधारमा, प्रान्तको आधारमा, संस्कृतिको आधारमा । हालै भारतको मणिपुरमा भएको जाती दङ्गादेखि लिएर अल्पसङ्ख्यकमाथि हुने धार्मिक नरमेधहरु हेर्ने हो भने ती सबै अर्काको फरक अस्तित्व र विविधतालाई स्विकार्न नसक्नु हो ।

पर्खालभित्र बसेर बाहिरी संसारको अस्तित्वलाई स्वीकार गर्न नसक्नु हो । प्रोफेसर रामचन्द्र श्रीनिवास सिरस लामो समयदेखि अलिगढ विश्वविद्यालयमा मराठी भाषा पढाउँदै आएका हुन्छन् । उनी शास्त्रीय तथा आधुनिक भारतीय भाषा फ्याकल्टीको प्रमुख भएको कुरा त्यहाँको प्रशासनमा कब्जा गरेर बसेकाहरूलाई मन पर्दैन । प्रोफेसर सिरस आफ्नो बन्द कोठाभित्र, समाजभन्दा पर यौन क्रीडामा व्यस्त भएको अवस्थामा दुई जना उनको गोपनीयता भङ्ग गर्दै क्यामेरा लिएर घुसपैठ गर्छन् ।

उनीहरूले हातमा बोकेको ‘नैतिकता’को डण्डा लिएर प्रोफेसर र उनको पार्टनरमाथि अभद्र शैलीमा जाइलाग्छन्। यो नियोजित घटनाका रचनाकार युनिभर्सिटीका अरू प्रोफेसरहरूलाई प्रोफेसर सिरसको प्राइभेट रुममा प्रकट हुन समय नै लाग्दैन । क्यामेरा लिएर अरूको गोपनीयता भङ्ग गर्नेहरूमाथि कारबाही हुनु त कहाँ कहाँ आफ्नो बन्द कोठामा प्रेम गर्नेलाई ‘नैतिकता’को आधारमा युनिभर्सिटीले कारबाही गर्छ ।

भोलिपल्ट उनको सेक्स टेप लिक गरिन्छ र हीनताबोध हुनै नपर्ने कुरामा उनलाई जबरजस्ती हीनताबोध महसुस गर्न बाध्य पारिन्छ । मैले कतै पढेको थिएँ समाज र राज्यको अधिकारको सीमा मेरो घरको ढोकामा आएर सकिन्छ । प्रोफेसर सिरसको बेड रुम सम्म पस्ने समाजमाथि नैतिकताको प्रश्न उठ्नु पर्ने होइन ? बन्द ढोकाभित्र दुई वयस्क बिच हुने सम्बन्ध कसरी समाजको विषय हुन्छ ? समानता र सम्मानपूर्वक बाच्न पाउने हक भएका दुई व्यक्तिले जसरी पो प्रेम गरून्, त्यो अनैतिक कसरी हुन्छ ?

यदि बहुसङ्ख्यक जस्तो हुनु नैतिक र अल्पसङ्ख्यक हुनु अनैतिक हो भने, हरेक व्यक्तिको कुनै न कुनै गतिविधि अनैतिक हुन्छ, किनकि हरेक व्यक्ति कुनै न कुनै कुरामा बहुसङ्ख्यक भन्दा पृथक् हुन्छ । यस सिनेमाको बारेमा लेख्दै गर्दा यदि अपूर्व अन्सारीद्वारा लेखिएको कविताबारे चर्चा नगर्दा अपुरो हुन्छ । सिनेमाको गहन तथा भावुक दृश्यहरू बिच उक्त कविता वाचन गरिन्छ । ‘ओ बिलभेड मून फियर नट, द डन द् याट सेपेरेट्स इट फर विइ विल मिट अगेन, ह्वेन द वर्ल्ड गोज टु स्लिप ।’

उक्त कवितामार्फत प्रोफेसर सिरसको मानसपटललाई ढाकेको दुख र अवसादको मनोभावलाई नियाल्ने प्रयास गरिएको छ । मान्छेलाई आफू जस्तो छ त्यस्तो भएर बाच्न नदिनु र उसलाई आफू भएकै कारण सारा संसारले प्रश्न गर्दा कति पिडादायी हुन्छ होला । ती कविता का शब्दहरू बिचको साइलेन्स र सिरसको एक्लोपन बिच गहिरो सम्बन्ध रहेको पाउँछौँ । सिरसले सिनेमामा कतै भनेका पनि छन्, कविता शब्दहरूमा होइन, शब्दहरूको बिचको साइलेन्समा हुन्छ ।

यसरी उनी आफ्नै जीवन बारे भनिरहेका थिए । उनको जीवन उनले भित्र महसुस गरेको एकान्तमा थियो । फिल्ममा प्रयोग गरिएको कलर ग्रेडिङले पनि सिरसको मानसपटलमा रहेको अवसाद र नीरसपनलाई व्यक्त गर्न सफल भएको छ । फिल्मको विभिन्न अन्तरालमा सुनिने कविता, ब्याक्ग्राउन्डमा बज्ने गीत र गहिरा संवादहरूले हामीलाई सिरसको खुट्टामा लगेर उभ्याइदिन्छ ।

सिनेमामा एउटा दृश्य छ जसमा मनोज बाजपेयी (सिरस) क्यासेटमा ‘आप की नजरोँ ने समझा’ गाना बजाएर बिस्तारै ग्लासमा रक्सी हालेर गीतको लयमा लय मिलाउँदै, गीतको तालमा आफ्नो हात र खुट्टा बिस्तारै घुमाइ रहेका हुन्छन् । यस्तो लाग्छ कि हामी त्यो कोठामा छौँ, सङ्गीत हाम्रो अगाडी नै बजिरहेको छ र हामी गीतका पङ्क्तिहरू बिच हराइरहेका छौँ । जसरी मनोज बाजपेयी ‘सिरस’मा हराएका छन् । यो सिनेमाले समाजको यथास्थितिवादी चरित्रमाथि प्रश्न गर्दै विभेदको विरुद्ध आवाज उठाएको छ ।

खासगरी लैङ्गिक र यौनिक अल्पसङ्ख्यकमाथि हुने विभेद र यातनाको विरुद्ध यो सिनेमा सशक्त रूपमा उभिएको छ । सिरसलाइ तपाईँ गे भएको कारणले गर्दा यस्तो गरेको हुन भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘मलाइ यो शब्दको मतलब थाहा छैन । कसैले मेरो भावनालाई तीन अक्षरमा कसरी बुझ्न सक्छ ।’ राजकुमार राओले अभिनय गरेका पात्र ‘दिपु’ले सिरसलाई अन्त्य सम्म मद्दत गर्छन् । उनले आफ्नो पत्रकारितामार्फत सिरसको कथालाई अगाडि बढाउँछन् ।

सिरसले अलिगढ युनिभर्सिटीले लिएको उनलाई बर्खास्त गर्ने निर्णय विरुद्ध मुद्दा लड्छन्, त्यति बेला पनि दिपु सबास्टियनले उनलाई मद्दत गर्छन् । दिपुकोमार्फत लेखकले नयाँ पुस्ताको सत्य र न्याय प्रतिको झुकावले आशावादी हुन आग्रह गर्छन् । सिनेमाको अन्त्यमा सिरसले मुद्दा जित्छन् । उनको जितसङ्गै उनको जीवनको पनि अन्त्य हुन्छ । सिरसको खानेकुरामा विष हालिएको तथ्य पछि थाहा हुन्छ । यस सिनेमाले सत्य घटनामा आधारित, आफ्नो पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भनेर लड्ने योद्धाको कथा भनेको छ ।

ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतवार १३:२३