सूचनाको शक्ति - The Power Of Information

        

पैसा तिरेर रोग किन्ने ?

केही महिनाअघि मेरी एक साथी फिनल्यान्ड गएकी थिइन् । दस दिनको बसाइँपछि उनी काठमाडौं फर्केर भेटेपछि मैले सोधेँ, ‘मलाई के ल त फिनल्यान्डबाट उपहार ?’ ‘तिमीलाई पाउरोटी ल्याइदिएकी छु,’ उनको भनाइले मनै अमिलो भयो । ‘त्यति टाढाबाट जाबो पाउरोटी । त्यो त म यहीँ पाउँथेँ नि,’ मनमनै सोचेँ । उनले पाउरोटी दिएपछि पो आनन्द लाग्यो ।

यो त काठमाडौँमा पाउने मैदाले भनेको सेतो पत्रु पाउरोटी होइन, उवाले बनेको अति स्वास्थ्यकर पाउरोटी पो रहेछ । ‘फिनल्यान्डमा त सेतो पाउरोटी खाँदैनन् । सरकारले त्यहाँका जनताको स्वास्थ्य राम्रो होस् भनेर पत्रु खानामा बढी कर लगाएको छ । र,स्वास्थ्यकर खाना खान प्रेरित गर्छ,’ म आफैँ १२ वर्षअघि फिनल्यान्ड जाँदा एक नर्सले भनेको कुरा याद आयो ।

अनि पो मेरी साथीले ल्याइदिएको उपहार खुसी भएर लिएँ, त्यो उपहार पाएपछि मलाई मनमा झल्याँस्स भयो, यस्तो राम्रो र पौष्टिक उवा त नेपालको मुस्ताङ, मनाङ, कर्णालीमा त पर्याप्त पाइन्छ तर ‘नजिकको तीर्थ हेला’ भनेझैँ, त्यो उवाको महत्त्व नजानेरै होला, उवा अहिले कर्णालीमै अपहेलित छ ।

काठमाडौँका मानिसलाई त उवाको बारेमा कुराकानी गर्यो भने कतिले त ‘खुवा’ भनेर सुन्दा रहेछन् । पहिले पहिले मुस्ताङतिरको यात्रा गर्दा भरियाले उवाले बनेको चम्पा ( पीठो) आफूसँग लैजान्थे । भोक लागे त्यही पानीमा घोलेर खान्थे । ६–७ घण्टा हिँड्न ऊर्जा सँगाल्थे । अहिले बाटो गएपछि त चाउचाउ र चिसो खान्छन् । अनि पैसा दिएर मुटुको रोग किन्छन् ।

उवा, किनुवा,चिनो आदि जस्तो अन्नलाई बिर्सेर चाउचाउ स्वाद खोज्नेहरूलाई थाहा छैन कि यसो गरिरहँदा उनीहरूले कस्तूरी मृगझैँ नाभिमा भएको सुगन्ध थाहा नपाएर, सुगन्ध खोज्न कता कता हिँडिरहेछन् । केही वर्ष पहिले जुम्ला गएको बेला काठमाडौँबाट कोदो र फापरको २० वटा जति रोटी बनाएर लगेको थिएँ । सात दिनसम्मको यात्रामा मेरो खाजा त्यही रह्यो ।

जुम्लाको होटेलमा कोदोको रोटी बन्दैन रहेछन्, मैले चिया मगाएर झोलाबाट रोटी निकालेर चियासँगै चोप्दै खाँदा कति जनाले मलाई अचम्मको नजरले हेरेका थिए । चियामा बिस्कुट नचोपेर, कोदोको कालो रोटी चोपेको देखेर होला । यात्रामा सँगै हिँडेका एक जनाले त भनी पनि हाले ‘काठमाडौँबाट ल्याएको यो रोटी बासी भएन र ? बासी नखानू भन्ने अरूलाई, अनि आफूचाहिँ बासी खाने ?

‘तपाईँले पसलमा किन्ने बिस्कुट, चाउचाउ, कुरकुरेचाहिँ बासी हुँदैनन् । मैले घरमा बनाएर ल्याएको कसरी बासी, ?’ मैले भनेँ । उनीहरूलाई मैले जुम्लाको एक पसलमा किनेको रु ५ जाने दालमोठको पोको देखाएँ, बदाममा ढुसी लागेको थियो मैले भनेँ, ‘यहाँका बच्चाहरूले यस्तै ढुसी लागेको बदाम खान्छन् । अनि कलेजोको रोगी बन्छन् । यस्तो दालमोठ त कुहिएको फालेको दालमोठ जम्मा गरेर बनाइन्छ । त्यस्तो कुरा थाहा छ कि छैन । यहाँका जनतालाई ?’

‘त्यसो भए सरकारले किन प्रतिबन्ध लगाउँदैन त यस्तो कुरालाई,’ धेरैले बारम्बार भने । ‘सरकारले त चुरोट र रक्सीमा पनि प्रतिबन्ध लगाएको छैन । के बालबालिकालाई त्यो किनेर खान दिने त ?’ मेरो प्रश्नले प्रायः सबैको मुखमा बुजो त लाग्छ तर प्रायः सबै जना फेरि बजारको दालमोठ, चाउचाउ, बिस्कुट किनेर भक्कुमार खान्छन्, कर्णालीमा बच्चालाई दिन्छन् । पैसा तिरेर रोग किन्छन् । यिनीहरूलाई हेर्दा लाग्छ आफ्नो घरमा फल्ने उवा, कोदो, फापर चिउरालाई अपहेलना गरेर यिनले नजिकको तीर्थ हेला गरेका छन् ।

सायद विदेशी मानिसहरू आएर कर्णाली, मुस्ताङ र मनाङको जौ, उवा, कोदो, फापर किन्न थाले भने अनि यहाँका सांसदहरू जुरमुराउनेछन् । ‘ओहो ! उवा, उवा, कोदो, फापर भनेको त बडो स्वस्थ वस्तु रहेछ, यसले त स्वास्थ्य र आर्थिक स्थिति दुवै राम्रो हुँदो रहेछ । लौ फलाऔँ ।’ अनि काठमाडौँका मन्त्रीहरू पनि एक दिन कर्णाली, मुस्ताङको खेतमा गएर कोदो, फापर उवाको बारेमा लामो भाषण गरेर दिवस मनाइदिनेछन् । बल्ल अनि नेपालीहरूले कोदो, फापर उवा खाने बानी गर्लान् कि ?

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतवार १२:२६