सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

देशैभर बदली, सुदूरपश्चिममा अति भारी वर्षा

हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहनु नै अहिलेको वर्षाको मुख्य कारण भएको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

उनका अनुसार अहिले नेपालमा भारतको उत्तरपूर्वी उत्तर प्रदेश तथा उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतवार ०६:४६