सूचनाको शक्ति - The Power Of Information

        

सेनाका कर्णेल जेलतिर, प्रहरीका एसएसपी सुनको खेलतिर

नेतासँग सम्धीको नाता, हाकिमसँग खड्कुलोको खेलो चलाउँदै नेपाल प्रहरीका एकजना एसएसपी चन्दनदेखि सुनसम्मको तस्करीमा तानिने भएका छन् । रसुवा नाकामा खटिएका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रामजी थापा काठ र चन्दन तस्करीको आरोपमा कोर्ट मार्शलमा परे, जेल गए, जागिर पनि खुस्कियो ।

तर, सँगसँगै उक्त काममा संलग्न भएका तत्कालिन डिएसपी ओमबहादुर रानाचाहिँ फुक्काफाल भएर हिँडे । उनै राना अहिले एसएसपी दर्जामा त उक्लिए । तर, पहिलादेखि अहिलेसम्मका घटनाले तान्दै ल्याएको छ । र, अहिले निक्कै तात्तातो बनेको सुन तस्करीमा उनको मिलेमतो हुन सक्ने रिपोर्ट प्रधानमन्त्रीसमक्ष पुगेको छ ।

तत्कालीन गुप्तचर विभाग (राष्ट्रिय अनुसन्धान) मा ०५३ पुस ५ गते निरीक्षक दर्जाबाट भर्ना भएका उनले मगरको नाता लगाउँदै माओवादी नेता वर्षमान पुन, अहिले एमाले भएका रामबहादुर थापा (बादल)हरुसँग राम्रो सम्बन्ध बनाए । त्यही सम्बन्धको आडमा दावा छिरिङहरुसँग उठबस गरे । बादलको पुख्र्यौली घर गुल्मी ।

पछि बसाइँसराइँ भएर चितवन पुगेका । नाताले ओम राना बादलका सम्धी पर्ने । बादलका खास सम्धीचाहिँ बुटवलतिर । उनै सम्धीमार्फत बादलकहाँ पुगेर नाता जोडे । यस्तै तरिकाले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) सँग पनि सम्बन्ध बनाए । भनिन्छ, यो तस्करीको जालोभित्र नन्दबहादुरका छोरा दिपेश पुन पनि जोडिने सम्भावना छ ।

रसुवा काण्डमा कर्णेल रामजी थापाको सम्बन्धमा सर्वोच्च अदालतले २०७० वैशाख ९ मा फैसला सुनाउँदा तत्कालीन प्रहरी प्रमुखका रुपमा ओम राना पनि मुछिएका थिए । तर, वर्षमान पुन अर्थमन्त्री भएको बेला तत्कालिन आइजी रवीन्द्रप्रताप शाहलाई बजेट घटाउने धम्की दिँदै उनी जोगाइए । कर्णेल रामजी अह्रिमर्दनका गणपति थिए ।

उनले प्रहरीको हाकिम (ओम)ले २०६८ साल वैशाख २५ गते आग्रह गरेबमोजिम सिमेन्ट लोड भएको ट्रक तीन वटा चेकपोष्टबाट छाड्न आदेश दिएको स्वीकारेका थिए । तर, पछि उक्त गाडीबाट रक्तचन्दन फेला पर्यो । यो काममा संलग्नता थियो, ओम रानाको तर कारवाही खाए एक्ला कर्णेल रामजी थापाले । उनलाई सैनिक ऐनअनुसार दुई वर्ष कैद र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्तसमेत गरियो ।

यो घटना २०६८ साउन १६ को हो । त्यसदिन ना ३ ख २८९४ नम्बरको ट्रकमा सिमेन्ट भन्दै चन्दन तस्करी भएको थियो । उक्त सामान तिब्बततिर भित्रिने क्रममा थियो । ओमले सादगी मानिने आइजी शैलेस थापासँग उपत्यका प्रहरी, रानीपोखरीमा हुँदादेखि नै राम्रो सम्बन्ध बनाएका थिए । त्यही कारण एसपी दर्जामा कास्की र बाँकेको कमाण्ड सम्हाले । जहाँ–जहाँ गए, त्यहाँ–त्यहाँ गुण्डाहरुको लाइन लाग्ने गथ्र्यो, गुण्डाहरुसँग बसेर कफीसफी खाने गर्दथे ।

पोखरामा त ठूलै काण्ड भयो । सराङकोटमा एक जापानीले खोलेको होटल छ । बनाउँदादेखि नै जापानिजलाई ङ्याकेपछि पैसा आउँछ भनेर हङकङ बस्ने पोखराकै एक जना हाउडे केटालाई नेपाल बोलाई सो होटलको निर्माणकार्य रोक्न लगाए । ती हाउडेले जापानिजको होटल छेउ डोजर चलाएमा पैसा आउँछ भन्ने बुझेर ‘त्यसकै छेउमा म पनि रिसोर्ट खोल्दैछु’ भने । त्यति भनाइको भरमा जापानिजले त्यहीँको कुटी होटेलमा एक्जिक्युटिभ रुम बुक गरिदिए ।

हाउडे केटाले जापानिजबाट ब्ल्यु लेबल ह्वीस्की लिने, कोटको खल्तीमा च्यापेर कुटीमा लैजाने, खाने बेलामा ओम राना पुग्ने ! उक्त रक्सी पिउनेमा ओम नम्बर एक, बादलका छोरा प्रतीक थापा दुई र हाउडे केटा तीन नम्बर ! त्यहाँ बसेर खाएको ६५ हजारको बिल आयो । त्यसपछि हङकङदेखि आएका हाउडे लुसुक्क भागे । यस्तो भएपछि जापानिजबाट आउला भनेको शेयर आएन, अर्थोक केही पनि भएन ।

हङकङबाट आएका हाउडेको सल्लाहमा डोजर चलाएर रातिराति जापानिजलाई धेरै दुःख दिए । त्यसो गर्दा पैसा आउँछ भनेपछि त्यसबेला त्यहीँ पोष्टिङ भएका गुप्तचरका एसपी भूमि त्रिपाठी पनि सल्बलाए । उनी केही समय एयरपोर्ट बसेर भर्खरै मात्र ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा भएका छन् । ओमको पोखराका सबैजसो मीटरव्याजी र गुण्डासँग राम्रो थियो । दिउँसै रक्सी पिएर ड्युटी गर्नेमा कहलिएका थिए ।

बाँकेमा त इन्स्पेक्टर, डिएसपीदेखि एसपी हुँदासम्म पटक–पटक सरुवा भएर गए । किनभने, त्यहाँ उनको सारा तस्करहरुसँग दोस्ती थियो । शैलेस थापा डिआइजी हुँदा एकपटक उनका लागि एउटा चाँदीको एउटा खड्कुलो लगिदिए । सामान सिपाहीहरुको हातमा प¥यो, शैलेसले देख्न पाएनन् । पछि थाहा पाएर गाली खाएपछि शैलेसको खुट्टा समात्न पुगे । र, माफी–मिनाहा भयो । रसुवामा हुँदा वर्षमान पुन अर्थमन्त्री थिए, रवीन्द्रप्रताप शाह आइजिपी ।

उनलाई हेडक्वार्टरबाट कारवाही गर्न ठिक्क पारिएको थियो । तर, वर्षमानले प्रहरीको बजेट नै घटाइदिने भनेपछि रवीन्द्रप्रताप पछाडि हटेका हुन् । नत्र, सँगै ड्युटी गर्ने कर्णेल जेल जाने, जागिर पनि जाने । उनीचाहिँ सर्लक्क निस्किने कुरा सम्भव थिएन । रसुवा जानुअघि बौद्धमा बस्दा चिनियाँहरुसँग राम्रो सम्बन्ध बनाए । त्यहाँबाट रक्सीकाण्ड लागेर तानिए । त्यसबेला अर्का मगर कुबेरसिंह राना आइजी थिए । अर्का छन्, सन्तोष तामाङ ।

भर्खर एसपी भए । जावलाखेल रहँदा आलिसान महल खडा गरेका छन् । झापा घर भएका उनले रसुवामा डिएसपी हुँदा सुन तस्करी चलाएपछि तानिनु परेको थियो । हेडक्वार्टरले कारवाही गर्न खोज्दा केपी ओली प्रधानमन्त्री हुनाले बचे । त्यसबेला रसुवागढीमा बसेका इन्स्पेक्टरले त तीन महिनामै सरुवा मागेर आफूलाई जोगाए । सन्तोषले स्याऊको कार्टुनमा सुन ल्याउँथे । उनले बालाजुमा हुँदा बालुवा तस्करी पनि चलाए ।

भनिन्छ, अहिले सुन तस्करीको जालोमा ओम रानाको संलग्नतासँग दावा छिरिङको कनेक्सन पाइन्छ । दावा पहिला कल बाइपासदेखि मानव तस्करीसम्म चर्चामा आएका व्यक्ति हुन् । उनले नन्दबहादुर पुनकी बहिनी भन्ने अमलासँग विवाह गरेका छन् । अमला एकल महिला हुन्, ०७४ मा पछि दावासँग विवाह भएको हो । तत्कालीन उपराष्ट्रपति निकट दावाले कोभिडअगाडि एउटा फण्डा झिकेका थिए, ‘चीनबाट नेपाल आउनेले प्याकेजमा उपराष्ट्रपतिसँग पनि भेट्न पाउने !’

पहिला चिनियाँ तस्करले कुनै घटनामा पर्नेबित्तिकै ‘नन्दबहादुर पुन त हाम्रो ससुरा हो नि’ भनेर प्रहरीलाई नै तर्साउने गर्थे । उनले यसरी नै आफ्नो आर्थिक तथा राजनीतिक कनेक्सन विस्तार गरेको अनुमान गरिन्छ । एउटा उदाहरण हेरौं, उनले लगाएको बेल्टमा ‘एच’ लेखिएको छ । उक्त बेल्ट ‘हर्नेस’ ब्राण्डको एकदमै महँगो हो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १७:४२