सूचनाको शक्ति - The Power Of Information

        

नाम जुध्दा विमानस्थलबाट फर्काएर हिरासतमा

नाम जुधेका कारण दुई जना चिनियाँ नागरिकले एक दिन सीआइबीको हिरासतमा बस्नु परेको छ । चिनियाँ नागरिक ली जियाइलियन र लिउ फुयान साउन २६ गते काठमाडौंबाट चीन जाँदै थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्न लाग्दा दुवै जनालाई रोकियो ।

त्यसपछि उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लियो । केही समयको केरकारपछि उनीहरू सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै राजस्व अनुसन्धान विभागमा लगियो । तर, विभागले उनीहरूलाई जिम्मा लिन अस्वीकार गर्यो ।

विभागले सुन तस्करी छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई दिएकाले पक्राउ परेका व्यक्ति पनि उतै बुझाउन भन्यो । अध्यागमनको टोलीले दुवै जना चिनियाँ नागरिकलाई सीआइबीको जिम्मा लगायो । उनीहरू सुन तस्करी संलग्न रहेको भन्दै हिरासतमा राखियो ।

एक रात सीआइबीको हिरातमा बसेका उनीहरूको संलग्नता नदेखिएपछि आज रिहा गरिएको छ । नेपाल प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सुन तस्करीमा दुवै जनाको संलग्नता नदेखिएको बताए । ‘अध्यागमन विभागले नाम जुधेर शङ्का लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो,’ कठायतले भने ।

उनीहरु सुन तस्करी प्रकरणमा उनीहरूको संलग्नता नदेखिएपछि रिहा भएका छन् । साउन ३ गते हङकङबाट आएको करीब सय किलो सुन त्रिभुवन विमानस्थलबाट जाँच पास भएपछि राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । यसमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् । अहिले सुन तस्करी प्रकरणको सीआइबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १७:२२