सूचनाको शक्ति - The Power Of Information

        

दाङमा इन्धन दुरुपयोग गर्ने पत्रकारको नामावली सार्वजनिक, केन्द्रीय अध्यक्षसमेत मुछिए

तुलसीपुर उपमहानगरपालिकाले इन्धन लैजाने पत्रकारहरुको नामावली सार्वजनिक गरेको छ । इन्धनको दुरुपयोग भएको समाचार प्रकाशित भएपछि उपमहानगरको चौतर्फी आलोचना भएको थियो । इन्धन वितरणमा ब्यापक दुरुपयोग गरेको र उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्र विपरित पत्रकारलाई इन्धन दिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पाइएको थियो ।

महालेखा परीक्षण प्रतिवेदनले कार्यक्षेत्र भन्दा बाहिरका पत्रकारहरुलाई समेत इन्धन बाँडेको कुरा अनियमितता भएको भनी सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । पत्रकारहरुले लिएको इन्धनलाई ‘पत्रकार महासंघतर्फ’ भनेर महालेखा परीक्षण प्रतिवेदनमा लेखिएपछि सोही शीर्षकमा इन्धन लिएका पत्रकारहरु छानबिन गरी नेपाल पत्रकार महासंघ दाङले नामावली नै सार्वजनिक गरेको छ ।

जसमा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर वसन्त पौडेलले ६० लिटर, सोही रेडियोका सम्पादक जितसागत जीएमले स्वतन्त्र पत्रकार महासंघको कार्यक्रमका लािग भनेर ८० लिटर लिएका छन् । त्यस्तै तत्कालीन नगर प्रमुख घनश्याम पाण्डेका प्रेस संयोजक ओपेन्द्र बस्नेतले एक पटक ५० लिटर, एक पटक ३० लिटर र एक पटक ४६ लिटर इन्धन लिएका छन् । त्यस्तै प्रेस सेन्टरले ५० लिटर, प्रेस चौतारी दाङले १०० लिटर, प्रेस चौतारी लुम्बिनी प्रदेशले १ सय लिटर, अबिरल राष्ट्रिय पोष्टले ६० लिटर इन्धन लिएको खुलेको हो ।

महासंघले इन्धन लिने पत्रकारहरुबो पहिचान गरेको हो । यो आर्थिक बर्ष २०७७–०७८ को हो । त्यस्तै आर्थिक बर्ष २०७८–०७९ मा पत्रकार नारायण खड्काले प्रेस युनियनको नाममा १०० लिटर इन्धन लिएको खुलेको छ । उनी सेतोपाटीमा आबद्ध पत्रकार हुन् । त्यस्तै राकेश बस्नेतले तीन पटक १०–१० लिटर गरी ३० लिटर पेट्रोल लिएको खुलेको छ । उनी दाङको साक्षी खबर प्रकाशित गर्छन् ।

त्यस्तै गिद्ध संरक्षण अभियानका अभियन्ता डिल्लीबहादुर रावतले पनि पटक–पटक गरी ३० लिटर लिएका छन् । त्यस्तै हाम्रो पहुँचका स्टेशन म्यानेजर वसन्त पौडेलले भैलो खेल्न भन्दै थप ४० लिटर, रेडियो प्रकृतिका स्टेशन म्यानेजर समेत रहेका ओपेन्द्र बस्नेतले २५ लिटर, रेडियो सञ्जिवनीका स्टेशन म्यानेजर शरद रेग्मीले ३० लिटर, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले २५ लिटर लिएको खुलेको छ ।

त्यस्तै राप्ती पहिचानका यज्ञबहादुर बुढाले पटक–पटक गरी ४० लिटर, दिपक बोहरा, गणेश आचार्यले १०–१० लिटर, निराजन डाँगीले २७ लिटर, महेन्द्र महराले १५ लिटर, श्यामलाल राणाले २० लिटर लिएको खुलेको छ । त्यस्तै सुमन केसीले पटक–पटक गरी २० लिटर, प्रेमबहादुर राम्जाले १० लिटर लिएको खुलेको छ । दिपक बोहोरा अग्रिम साप्ताहिक र लाइभ दाङका सम्पादक हुन् । उनी अहिले लुम्बिनी प्रदेशका अर्थमन्त्रीका प्रेस सल्लाहकार समेत हुन् । उनीसँग सवारी साधन छैन् । तर उनले पनि इन्धन लगेको उपमहानगरपालिकाले जनाएको छ ।

स्रोत : न्यूज बुटवल टुडे
प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १६:०५