सूचनाको शक्ति - The Power Of Information

        

पूर्व कमैयाको दैनिकी

होमस्टेले फेरियो पूर्व कमैयाको जीवनस्तर

जमिन्दारको खेत अँधिया लगाउँदा यसअघि उनीहरु सँधै खेतबारीमै ब्यस्त हुन्थे । अहिले छोराछोरी सबै विद्यालय जाने र आफुहरु होमस्टेमा पाहुनाको स्वागतमा ब्यस्त भएर अँधिया लगाउन छोडिसकेका छन् ।

बाबुराम थारुले बाँकेको गाभर फाँटमा होमस्टे सञ्चालन गरेको करिव सात बर्ष पुग्न लाग्यो । सुरुवात गरेदेखि पाहुना झन् झन् बढ्दै गएका छन् । ‘पाहुना आउनुहुन्न भन्ने दिन नै छैन, नेपालगञ्ज, कोहलपुर, बुटवल, नवलपरासी र पश्चिम धनगढीका पहुनाले समेत सेवा गर्ने अवसर दिइरहनुभएको छ,’ बाबुराम भन्छन् ।

सुरुमा आफ्नो घर अगाडि विश्वकै ठूलो चराका रुपमा चिनिने अस्ट्रिच फार्म खुलेपछि टाढाटाढाबाट हेर्न आउनेको संख्या बढ्दै गएको देख्दा बाबुराम थारुले नमुना थारु होमस्टे सञ्चालन गर्ने योजना बनाए । दुई कठ्ठा मात्र जग्गा भएपनि त्यसैमा होमस्टे सुरुवात गरेको बबुरामले बताए । अस्ट्रिच फार्म सञ्चालनमा आउँदा घर वरिपरि अडहर छरेको थियो ।

उनले भने, ‘मैले अडहर मासेर होमस्टे बनाउँदा गाउँलेले दाल खाने अडहर मासेर बौलायो भन्थे, अडहर फालेर अहिले त्यो भन्दा धेरै अडहर कमाईसकेँ दाल पनि धेरै खाईसकेँ र आम्दानी पनि राम्रै भइरहेको छ ।’ पछिल्लो समय होमस्टेमै ठूला कार्यक्रम, पार्टी, सेमिनार गर्ने माग बढ्दै गएकाले दुई कठ्ठामा सञ्चालन गरेको नमूना थारु होमस्टेले धान्न मुस्किल भएको बाबुरामको भनाई छ ।

‘होमस्टेकै आम्दानीबाट मिनीगाभर भ्यालीमा जग्गा खरिद गरेर हाल ८० लाख लगानी गरेर ठूलो हल र पार्किङको ब्यवस्था सहित गत बैशाखदेखि अर्को होमस्टे सञ्चालन गरिरहेको छु’, उनले भने । उनी एक्लैले नभ्याएर तीनजना युवालाई आफ्नो होमस्टेमा रोजगारी समेत दिएका छन् । आमाबुवाले विगतमा जमिन्दारको जग्गा जोतेर कमैयाको रुपमा दुःख गरे पनि होमस्टेले अहिले आफ्नो अवस्था फेरिएको बाबुरामको भनाई छ ।

पुरानो होमस्टे भाईलाई जिम्मा दिएर नयाँ होमस्टे विस्तार गरेको बाबुराम बताउँछन् । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर फाँटका डम्बरबहादुर थारु पनि कुनै दिन जमिनदारको जग्गामा अँधिया खेती गरेर जमिनदारकै चाकडीमा समय बिताउँथे । अहिले उनी आफ्नै घरमा सञ्चालन गरिएको होमस्टेमा पाहुनाको स्वागतमा ब्यस्त छन् । उनको लागि होमस्टे नै आयआर्जनको राम्रो स्रोत बनेको छ ।

सम्पत्तिको नाममा यसअघि माटोको घरसँगै दुई कठ्ठा ऐलानी जग्गा मात्र रहेको बताउने डम्बरले अहिले १२ कठ्ठा नम्बरी जग्गा खरिद गरिसकेको प्रगति सुनाउँछन् । उनी भन्छन्, ‘होमस्टेकै आम्दानीबाट दुई छोराको नममा ४–४ कठ्ठा र मेरो नाममा पनि ४ कठ्ठा जग्गा जोडेका छौं, अहिले सबै परिवार होमस्टेमै भ्याईनभ्याई छ ।’ उमेरले ७० बर्ष पुग्न आँटेका डम्बरलाई जीवनको उर्जावान समय जमिन्दारको चाकडीमा खेर फालेकोप्रति पछुतो छ ।

‘२८ बर्षसम्म जमिनदारको चाकडी गरेँ केही उपलब्धि भएन, अहिले आफ्नै घरमा रमाउने बेला बुढेसकालले छोयो,’ जमिन्दारको घरबाट कमैया मुक्त भइसकेपछि पनि आफ्नो जग्गा नभएकाले जमिन्दारको जग्गा अँधिया लगाएर परिवार पालेको तीतो अनुभव सुनाउँदै उनले भने, ‘जमिन्दारको घरमा सबै काम अँधिया लगाउनेले नै गर्नुपर्ने हुन्थ्यो, कमैया जस्तै काम गरिरहनु पर्दथ्यो, धेरै दुःख थियो ।’

आमाबुवा दुवैजना जमिनदारको घरमा कमैया कम्लहरीको रुपमा काम गर्दा आफू सानैदेखि भारतको विभिन्न स्थानमा मजदुरी गर्न जाने गरेको डम्बरका जेठा छोरा बालकृष्ण थारुले विगतको अवस्था सुनाउँछन् । विगत ६ बर्षदेखि दङ्गाली अर्गानिक होमस्टे सञ्चालनमा ल्यएपछि उनको परवारमा कसैलाई पनि रोजगारीको लागि घरबाहिर जानुपरेको छैन । जमिन्दारको खेत अँधिया लगाउँदा यसअघि उनीहरु सँधै खेतबारीमै ब्यस्त हुन्थे ।

अहिले छोराछोरी सबै विद्यालय जाने र आफुहरु होमस्टेमा पाहुनाको स्वागतमा ब्यस्त भएर अँधिया पनि लगाउन छोडिसकेका छन् । दंगाली होमस्टे सञ्चलन गरेकी फूलमति थारु भन्छिन्, ‘आफ्नै खेतमा पनि खेती गर्ने समय छैन, अव अँधिया खेती गर्ने त कुरै छैन ।’ फूलमतीका श्रीमान बुझावन थारु पहिले अँधिया खेती सकेर खाली समयमा मजदुरी गर्न नेपालका पूर्वी जिल्लाका साथै भारत सम्म पुग्ने गर्दथे ।

अहिले होमस्टे सञ्चालन गरेर घरमै आयआर्जन गर्न पाउँदा खुसी लागेको बताउँछन् । पहिले आय आर्जनको कुनै स्रोत थिएन, उनले भने, ‘नेपालमा मजदुरीको काम नपाउँदा भारत पनि गइन्थ्यो, अहिले पाहुनाको स्वागत गर्न ठिक्क छ ।’ जमिन्दारको जग्गा अँधिया जोत्ने भनेरै दाङबाट बाँकेको बैजनाथ १ गाभर फाँटमा झरेका जग्गाविहीन तीन परिवार अँधिया खेती गरेर जीवन धान्दै आएका थिए ।

अहिले तीनै परिवार होमस्टेको मालिक भएर आयआर्जन गरिरहेका छन् । होमस्टेमा आउने पाहुनालाई उनीहरुले थारु परिकार ढिक्री, लोकल कुखुराको मासु, घोंगी, आलु र सिन्कीको अचारले स्वागत गर्ने गरेको बताउँछन् । थारु परिकारको स्वाद मन पराएर एकपटक आएर गएका पाहुनाहरु धेरैपल्ट आईराख्ने गरेको होमस्टे सञ्चालक बाबुराम बताउँछन् ।

ब्यक्तिगत लगानीमा तीन पूर्व कमैया परिवारले सुरुवात गरेको होमस्टेबाट राम्रो आम्दानी भएको देखेर हाल थप तीन परिवारले पनि होमस्टे सञ्चालन गरिरहेका छन् । ६ परिवारले छुट्टाछुट्टै होमस्टे सञ्चालन गरे पनि पाहुना एकैचोटी धेरै आउँदा सबैले बाँडेर बसाल्ने गरेका छन् । अस्ट्रिच फार्मकै कारण मिनीगाभर भ्यालीमा होमस्टे सञ्चालन भए पनि हाल अस्ट्रिच फार्ममा दुईवटा मात्र अस्ट्रिच रहेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पनि होमस्टे स्थापनामा बल पु¥याएको पूर्व कमैयाहरु बताउँछन् । पूर्व कमैया परिवारले सात वर्षअघि सुरु गरेका सबै होमस्टे अहिले आत्मनिर्भर भइसकेका छन् । होमस्टेमा आउने पाहुनाहरु अस्ट्रिच फार्म अवलोकन गर्नुका साथै नजिकैको सामुदायिक वनमा घुमफिर गर्ने र जंगल सफारीको ब्यवस्था समेत रहेको होमस्टे सञ्चालकहरु बताउँछन् ।

स्रोत : न्यूज बुटवल टुडे
प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १५:४३