सूचनाको शक्ति - The Power Of Information

        

खुला दिसामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय

कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै पर्याप्त सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।

भीमदत्त नगरपालिका–४ मिनी मार्केटका व्यवसायी दुर्गादत्त भट्टले सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती भोग्नुपरेको बताए । ‘यहाँ सार्वजनिक शौचालय छैन, स्थानीय तहलाई पटक पटक गुहार गर्दा पनि माग सुनुवाइ नै भएन,’ उनले भने ‘हामी व्यापारी र पसलमा आउने ग्राहकलाई शौच गर्न निकै समस्या छ ।’

यहाँका व्यापारीले शौच गर्नका लागि आफैँले अस्थायी शौचालय निर्माण गरेका छन् । बर्सातमा मिनी मार्केट रहेको क्षेत्र डुबानमा पर्ने हुनाले शौचालय जानै मुस्किल पर्ने गरेको उनको गुनासो छ । ‘हामीले पसल थापेको यो क्षेत्र बर्सातमा जलमग्न हुन्छ, अस्थायी बनाइएको चर्पी पनि भत्काउँछ’ उनले भने ‘हामीले शौच गर्न कहाँ जाने ?’

मिनी मार्केटमा ४३ व्यवसायीले व्यवसाय सञ्चालन गरेका छन् । पटकपटक आग्रह गर्दा पनि भीमदत्त नगरपालिकाले शौचालय निर्माण नगरेको जनाउँदै उनीहरूले विरोधस्वरुप स्थानीय तहलाई कर तिरेका छैनन् । ‘स्थानीय तहले हाम्रो शौचालयको अभावको समस्या सुनेन, १५ साउनदेखि कर बुझाएका छैनौँ,’ व्यवसायी जयसिंह भण्डारीले भने ‘तत्काल यहाँ शौचालय निर्माण गरिनुपर्छ ।’

यहाँ व्यापार गरेबापत स्थानीय तहलाई प्रत्येक दिन व्यापारीले रु ५० कर तिर्दै आएका थिए । वि।सं २०७४ पुसमा कञ्चनपुर जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको छ वर्ष बित्नै लाग्दा पनि अझै महेन्द्रनगर बजार क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालय निर्माण हुन सकेका छैन ।

अर्कोतर्फ बजार क्षेत्रमा भएका शौचालय पनि मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएका छन् । सार्वजनिक शौचालय फोहरले दुर्गन्धित रहेको सर्वसाधारणको गुनासो छ । खुला दिसामुक्त घोषणा भएको जिल्लाको बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण खुला ठाउँमै शौच गर्न बाध्य छन् । जसले बजार क्षेत्र दुर्गन्धित बन्दै गएको र रोग फैलिने जोखिम बढेको छ ।

‘सार्वजनिक शौचालय नभेटेपछि होटेल छिर्नुबाहेक विकल्प छैन,’ स्थानीयवासी रोशन थापाले भने ‘कतिपय सर्वसाधारण झाडी तथा खुलारुपमै शौच गर्न बाध्य छन् ।’ बजार क्षेत्रको ठाउँ ठाउँमा सार्वजनिक शौचालय निर्माण हुने पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १२:४६