नेकपा एमालेको अवरोधका कारण शुक्रबार पनि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नै नगरि बैठक स्थगित भएको हो ।
बैठकको सुरुमा केहि सांसदहरुले धारणा राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यसूचीका कार्यक्रमलाई अघि बढाउन खोज्दा एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । एमाले सांसदहरुले उठेर विरोध जनाएपछि आफुहरुले पनि बोल्न पाउनुपर्ने र कार्यसूचीलाई अघि बढाउनुपर्ने भन्दै सत्ता पक्ष सांसदहरुले पनि उठेर विरोध जनाए ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चालन गर्न पटक पटक आग्रह गर्दा पनि विपक्षी सांसदहरुले विरोधलाई निरन्तरता दिएपछि बैठक साउन ३१ गते बुधबारसम्मका लागि स्थगित गरिएको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं