सूचनाको शक्ति - The Power Of Information

        

कपनमा पुरिएका खोलालाई पुरानै स्वरुपमा फर्काउने काम आजदेखि सुरू

काठमाडौंको कपन क्षेत्र हुदै बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउने काम शुक्रबारदेखि सुरू हुने भएको छ ।

काठमाडौँं महानगरपालिका र बुढानीकण्ठ नगरपालिकाबीच पहिला पुरिएका खोलाहरु खोलेर पुरानै स्वरुपमा फर्काउने काम शुक्रबारदेखि सुरू गर्ने सहमति भएको हो ।

काठमाडौं महानगरपालिकाले खोला खोल्नका लागि बिहीबार डोजर परिचालन गरेकोमा स्थानीय केही ब्यक्तिहरुको विरोधका कारण स्थागित गर्नुपरेको थियो । त्यसपछि काठमाडौंका मेयर बालेन्द्र शाह र बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीबीच भएको वार्तामा दुवै खोला खोलेर पुरानै स्वरुपमा फर्काउने सहमति भएको हो ।

काठमाडौंले शुक्रबारदेखि धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्ने भएको छ । जहाँसम्म खोला पुरिएका छन् त्यहाँसम्म खोल्ने सहमति भएको छ । काठमाडौं र बूढानीलकण्ठबीच सीमाङ्कन, रेखाङ्कन र नापजाँच गर्ने सहमति समेत भएको छ ।

यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका सवै संरचना भत्काइने भएको छ । पछिल्लो डेढ दशकमा भूमाफियाले खोला मिचेर अव्यवस्थित आवास क्षेत्र बनाएका छन् ।

जसका कारण यज्ञमति र चखुँचाखोला ढलमा परिणत भएका छन् । वर्षामा भने दुवै खोलाको बाढी सडकमा बग्दा कपन क्षेत्र डुबानमा पर्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार ०८:४०