लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा तीन दिनदेखि यातायात ठप्प भएको छ ।
यातायात ठप्प हुँदा विरामीहरुलाई अस्पताल पुर्याउन समेत मुश्किल भएको छ । सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लालाई जोडने एक मात्र राजमार्ग भीमदत्त राजमार्ग ३ दिन देखि अवरुद्ध हुँदा समस्या भएको हो ।
कैलालीको बुढीतोलामा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो भने पहाडी भेगमा पनि ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण पहिरो पन्छाएर सडक खुलाउने प्रयास सफल हुन सकेको छैन । सुदूरपश्चिमा बाढीले पनि ठूलो क्षति पुर्याएको छ । प्रदेश सरकारको तथ्यांक अनुसार बाढी पहिरोबाट अहिलेसम्म तीन हजार चार सय परिवार प्रभावित भएका छन् भने एक हजार पाँच सय ३७ परिवार विस्थापित भएका छन् ।
बाढीमा परी कैलालीको गोदावरीमा एक जनाको मृत्यु भएको छ भने टीकापुरका एक जना घाइते भएका छन् । बाढीबाट सवैभन्दा बढी प्रभावित भएको कैलालीको टिकापुर, भजनी, जोशीपुरलगायत क्षेत्रमा बढी विस्थापित भएका छन् । ती स्थानमा सयौँ परिवार सडकमा पाल टाँगेर बसिरहेका छन् ।
सुदूरपश्चिममा चार सय ९७ घरमा क्षति पुगेको र १६ वटा घर पूर्ण रुप्मा क्षतिग्रस्त भएको प्रदेश सरकारको भनाइ छ ।
सत्यपाटी संवाददाता । कैलाली