सूचनाको शक्ति - The Power Of Information

        

सिम्रिक एयरको सबै उडानमा आजबाट रोक

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट लागु हुने गरी सिम्रिक एयरको सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सिम्रिकले आर्थिक वर्ष २०७९–०८० मा कुल ५५ लाख रुपैयाँ तिर्नुपर्ने थियो । उक्त बक्यौता तिर्न आग्रह गर्दा करिब आठ लाख रुपैयाँमात्र तिरेको सूचना अधिकारी भुलले जानकारी दिए ।

उनका अनुसार बाँकी ४६ लाख बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि नतिरेपछि आजबाट सबै उडानमा रोक लगाएको हो । प्राधिकरणको अडिटमा पनि सिम्रिकको वित्तीय अवस्था कमजोर देखिएको छ । बक्यौता तिरेको दिनदेखि नै पुनः उडान सुरु गर्न दिने अधिकारी भुलले जानकारी दिए ।

‘फाइनान्सियल अवस्था धेरै कमजोर देखियो । यसले जहाजको सामग्री खरिद गर्दा गुणस्तरमा र कर्मचारीहरूको तलब भत्तामा कम्परमाइज (सम्झौता) हुनसक्छ । उडान सुरक्षाको हिसाबले पनि गम्भीर देखिएपछि उडानमा रोक लगाएका हौँ,’ सूचना अधिकारी भुलले भने, ‘यसमा कुनै पूर्वाग्रह छैन । जुन दिन ४६ लाख बक्यौता चुक्ता हुन्छ त्यसै दिनबाट उडान सुरु हुन्छ ।’

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार ०८:१३