सूचनाको शक्ति - The Power Of Information

        

रुसलाई हराउन नसकेपछि जेलेन्स्कीलाई दबाब, अमेरिकाले साथ छोड्न सक्ने !

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या योजनामा संलग्न रहेको आरोप लागेकी एक महिलालाई यसै साताको सोमबार युक्रेनी सुरक्षा सेवा (एसबीयू)ले पक्राउ गरेको छ । नाम नखुलाइएकी ती महिला दक्षिणी युक्रेनी क्षेत्र माइकोलाइभकी भएको बताइएको छ ।

एसबीयूले ती महिला राष्ट्रपति जेलेन्स्कीको माइकोलाइभ भ्रमणबारे खुफिया जानकारी संकलन गरिरहेको बताएको छ । सोही आधारमा रुसले हवाई हमला गर्ने योजना रहेको युक्रेनी सुरक्षा सेवाको भनाइ छ । एसबीयूले आक्रमणकारीहरूलाई जानकारी दिन खोज्दा ती महिलालाई रंगेहात पक्राउ गरेको बताएको छ ।

यतिबेला जेलेन्स्की रुसविरुद्ध प्रतिआक्रमणमा महत्त्वपूर्ण उपलब्धि हात नपारेका कारण पनि दबाबमा छन् । संयुक्त राज्य अमेरिकी नेतृत्वका पश्चिमा सहयोगीहरूले युक्रेनले तीव्ररूपमा प्रतिआक्रमण गरी भूमि फिर्ता ल्याएको हेर्न चाहेका छन् । तर, रुसी विमानहरूको प्रभावकारिता, माइनफिल्ड र खराब मौसम लडाइँमा प्रमुख चुनौती भएको युक्रेनी भनाइ छ ।

युक्रेनको सुस्त ‘काउन्टरअफेसिन्भ’ले पश्चिमा सहयोगीहरू असन्तुष्टि बन्दै गएका छन् । युक्रेनले लडाइँमा जानीजानी ढिलाइ नगरेको भनिरहेको छ । तर, अमेरिका र युक्रेनका युरोपेली सहयोगीहरू भने असन्तुष्ट छन् । युक्रेनले काउन्टर अफेन्सिभमा उपलब्धि हासिल गर्ने सम्भावना निकै न्यून भएको एक उच्च अमेरिकी अधिकारीले सीएनएनसँग भनेका छन् ।

युरोपमा युक्रेनी सेनालाई तालिम दिइरहेका कमान्डरसँगको बैठकबाट फर्किएका अमेरिकी डेमोक्रेट पार्टीका सांसद माइक क्विग्लेले ‘यो युद्धको सबैभन्दा चुनौतीपूर्ण समय’ भनेका छन् । युक्रेनी सेनाका लागि हजारौँ विस्फोटक माइन र लडाइँ गर्न बनाइएका खाडलको ‘मल्टिलेयर’ रक्षा लाइन पार गर्नु ठूलो चुनौती भएको उनले बताएका छन् ।

युक्रेनी सेनाले रुसी सेनाको एउटै रक्षा रेखासमेत पार गर्न नसकेको अर्का एक उच्च अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । युक्रेन रुसविरुद्ध लड्न कमजोर हुँदै जाँदा अर्बाैं डलरको सैन्य सहायता प्रदान गरिरहेको अमेरिका र अन्य युरोपेली सहयोगीहरू निराश बनेका हुन् । युद्ध मैदानको वास्तविकता र सांसदहरूको मनसाय परिवर्तन हुँदै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत कठिन राजनीतिक भविष्यको सामना गरिरहेको पोलिटिकोले उल्लेख गरेको छ ।

युक्रेनको प्रतिआक्रमण किभ र वासिङ्गटले सोचेभन्दा पनि निकै सुस्त गतिमा अघि बढिरहेको छ । स्थिति यति प्रतिकूल बन्दै गएको छ कि अमेरिकी प्रशासनले युक्रेनका लागि भनेको १० अर्ब अमेरिकी डलरको सहायता फिर्ता गर्न संसद्लाई आग्रह गर्न सक्ने ठानिएको छ । अमेरिकी विपक्षी दल रिपब्लिकन पनि युक्रेनको सहायतालाई लिएर पूर्ण समर्थन गर्छ भन्ने देखिन्न र गत महिना ७० सांसदले युक्रेनलाई दिने सहायता रोक्न असफल प्रस्ताव गरेका थिए ।

हालसम्म युक्रेनको मामिलामा अमेरिकी संसद्मा एकमत थियो । तर, काउन्टर अफेन्सिभले पनि उपलब्धि नहुँदा संसद् विभाजित हुँदै गएको छ । रिपब्लिकन सांसद डन बेकनले युक्रेनलाई सहायता गर्न बजेट विनियोजन भए पनि खर्च नभएको र नयाँ सहायता प्रस्तावको कुरा नआएको बताएका छन् । डेमोक्रेट सांसद जेसन क्रोले युक्रेनले आक्रामक रणनीति भन्दा सेना जोगाउने रणनीति अँगालेको बताएका छन् ।

युक्रेनी सेनाले एक माइनफिल्ड सफा गरेर अघि बढ्दा रुसी सेनाले आर्टिलरी र हेलिकप्टर प्रयोग गरी उनीहरूको पछाडि माइन खसालेर ट्र्यापमा पारिरहेको उनको भनाइ छ । लडाइँ लामो समय जाने ठानेर अमेरिका, जमर्नी, चेक रिपब्लिक र अन्य सहयोगीले सहायता प्रदान गरेका हतियार एवं सशस्त्र सवारी साधन मर्मत गर्न मर्मत सुविधा निमार्ण गरिरहेको पोलिटीकोले जनाएको छ । यस किसिमको पहिलो सुविधा पोल्यान्डमा बनिरहेको र अर्काे वर्ष युक्रेनभित्र निर्माण गरिने बताइएको छ ।

अर्कातिर युद्धको स्थिति कमजोरतरिकाले अघि बढ्दा युक्रेनलाई वार्ताको टेबलमा जाने वातावरण पनि बन्न सक्ने अनुमान छ । तर, अहिलेकै अवस्था आफ्नो सीमा स्वीकार गर्न किभ तयार छैन र आफ्नो नियन्त्रणमा लिइसकेको भूमि मस्कोले छोड्ने सम्भावना छैन । यसकारण रुस–युक्रेनयुद्ध कुन दिशामा जान्छ भन्ने र शान्तिवार्ताको सम्भावना अनुमान गर्न सकिने स्थिति छैन । तर, पश्चिमा सहयोगीहरूले चाहेको रणनीतिअनुरूप किभ अघि बढ्ने सम्भावना बढी छ र त्यो उनीहरूको हितमा हुन सक्छ वा किभको भन्न सकिन्न ।

स्रोत : सीएनएन
प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार २१:१६