राज्यका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिकालाई चेक एण्ड ब्यालेन्स गर्न सक्ने भएकाले नै पत्रकारितालाई चौथो अंग भनिएको हो । ती तीन अंगभित्र हुनसक्ने विकृति, विसंगति, भ्रष्टाचार, अनियमितताविरुद्ध आवाज उठाउने तागत भएकाले नै पत्रकारिता क्षेत्रका दुई पात्र आमसमाचार माध्यम र पत्रकारसँग ती तीनै अंगका जिम्मेवार व्यक्तिहरू संयम र सजग पनि हुन्थे । जनता र राज्यप्रति उत्तरदायी बन्दथे । यही महत्व बुझेर नै एडमण्ड बुर्के (१७८७) ले पत्रकारलाई चौथो अंग मान्नुपर्ने बताएका हुन् ।
त्यतिबेलाका पत्रकारमा पनि यस्तो तागत थियो, हुन्थ्यो । पत्रकार ती अंगका कसैसँग नबिक्ने भएकाले उनीहरूमा नैतिक बल रह्न्थ्यो । नैतिक बल भएकाले नै तीन अंगमाथि प्रश्न उठाउने आँट गर्दथे । त्यसले समाज र राष्ट्रमा सुशासन ल्याउन र लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेल्दथ्यो । पत्रकारप्रति समाजको समेत शीर झुक्दथ्यो । नेपालमा पनि पत्रकारिताको अभ्यासका सुरुवातका क्रममा त्यसमा आवद्धको शान उच्च हुन्थ्यो । अझ राजनीति, साहित्य क्षेत्रमा इमेज बनाएका मानिस नै पत्रकारितामा आवद्ध हुन्थे ।
जहाँनिया राणा शासन र निरंकुश पञ्चायती व्यवस्थालाई सदाका लागि मिल्काउन यस्ता इज्जतिला पत्रकारले लामो समय मिसन पत्रकारिताका माध्यमबाट योगदान दिए । बहुदलीय प्रजातन्त्र स्थापनाका प्रारम्भिक चरणसम्म पनि नेपाली पत्रकार र पत्रकारिताको शान र मानमा त्यति घुनपुत्लो लागिसकेको थिएन । माओवादी जनयुद्धलाई सघाउन र २०५८ पछि राजाको शाही कुलाई परास्त गर्न धेरै पत्रकार र आम समाचार माध्यमले विशेष सहयोग गरेकै हुन् । यद्यपि, त्यतिबेलासम्म नेपाली पत्रकार र आमसमाचार माध्यमलाई हेर्ने दृष्टिकोण बदलिसकेको थियो ।
जसरी बहुदलीय व्यवस्था स्थापनाको छोटै समयमा संसदीय राजनीतिक दलहरूले मुलुकमा विभिन्न विकृति भित्र्याएर आफँैप्रतिको जनविश्वास गुमाउँदै आए त्यसरी नै धेरै पत्रकार र आम समाचार माध्यमले पनि पहिलेको इज्जतमा दाग लगाउन पछि परेनन् । २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भएसँगै क्रमशः संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता लेखिएपछि त्यसलाई स्वच्छन्दता ठानेर नेपाली पत्रकारमा त्यसको मात चढ्दै आयो र त्यो मात अझै बढ्दै गएको छ ।
खासगरी २०७० को दशकमा मौलाएका अनलाइन माध्यमहरूको अराजक शैलीका कारण नेपाली पत्रकारिता झन झन बद्नामको अवस्थामा पुगेको छ । नेपाली पत्रकारिताभित्र मौलाएका बार्गेनिङ, चरित्रहत्या, समाचार चोरी र साभार, एकपक्षीयता, समाचारको अंग नै नपुगेका सामग्री सम्प्रेषण, अनुमानका सूचना, पूर्वाग्रह, आग्रहजस्ता विभिन्न नकारात्मक प्रवृत्तिहरूको प्रभावका कारण समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण झन् नकारात्मक बन्दै गएको छ । त्यहीँमाथि सामाजिक सञ्जाल र त्यसमा पनि अराजक युट्युबरका कारण वास्तविक पत्रकारको पहिचान गुम्दै मात्रै छैन ।
समाजले युट्युबलाई नै वास्तविक मिडिया र त्यस्ता युट्युबरलाई नै खाँटी पत्रकार भनेर बुझ्न थालेको छ । हो, कसैलाई रक्सी पिउँदा आनन्द आउँदो हो । कसैलाई अरूको कुरा काट्दा र भए नभएका फत्तुर लगाउन पाउँदा मज्जा लाग्दो हो । कोही कोही नेता, मन्त्री या जो कसैको महिमा गाउँदा र पछि लाग्दा युद्ध जितेको ठान्दा हुन् । तर सच्चा लेखक र पत्रकारलाई लेख्नमै मज्जा आउँछ । अरुले अनेक बोले, एक अर्काको कुरा काटेजस्तै लेख्न मन लाग्नेले लेख्न, पढ्न, बोल्न पाउनुपर्छ । सबैभन्दा प्रिय कुरा नै बोल्न र अन्तःस्करणका कुरा खोल्न पाउनु हो ।
जोन मिल्टनले पनि भनेका छन्, अन्तस्करणका कुरा खोल्न पाउनु नै सबैभन्दा ठूलो स्वतन्त्रता हो । यसकै लागि त संसारमा ठूला ठूला आन्दोलन, संघर्षहरू भएका हुन् । तर बोल्न र लेख्न पाइयो भन्दैमा हामीकहाँ जे मन लाग्छ त्यही लेख्ने, बोल्ने क्रम बढेर गएको छ । तर, यसका दोषी ती पक्ष मात्र होइनन्, छैनन् । तीभन्दा बढी दोषी पत्रकारिता क्षेत्रका सबै सरोकारवाला छन् । ठूला या वरिष्ठ पत्रकार भनिएकाहरू नै स्वच्छ, स्वतन्त्र, सन्तुलित पत्रकारिताको विरुद्धमा छन् । उनीहरू दहीचिउरे छन् । भाषण र आसन (मञ्च)मा हुँदा एउटा कुरा गर्छन् । बाहिर निस्केपछि फरक चरित्र देखाउँछन् ।
नवआगन्तुक र शिकारु पत्रकारलाई नै यस्तै चरित्र निर्माण गर्न उत्प्रेरित गर्छन् । बडो बिडम्बना छ त्यहाँ । सधैँदेखिको सिण्डिकेट हुन्छ त्यहाँ । तिनै विज्ञ । तिनैलाई नियुक्ति चाहिन्छ । तिनै संगठनको प्रमुख नेता पनि बन्नुपर्छ । दल र यस्तै संगठनको संयोजक, सल्लाहकार तिनै बन्नुपर्छ । पुरस्कार, विदेश भ्रमण लगायत विभिन्न अवसरहरू तिनैले थाप्नुपर्छ । तिनै हुन् स्वतन्त्र, सन्तुलित पत्रकारिता मारेर दलीय स्वार्थमा काम गर्ने र फेरि तिनै हुन् स्वतन्त्र र सन्तुलित पत्रकरिताको प्रशिक्षण, तालिम दिँदै हिँड्ने ।
आफू नहुञ्जेलसम्म अरूलाई धारेहात लगाउँदै कुरा काट्ने तिनै कथित विज्ञ र प्रज्ञा आफू बनेपछि उल्टै कुतर्क गर्छन्, लोकतन्त्र हो यो, लोकतन्त्रमा अधिकार प्रयोग गर्न पाइहालिन्छ नि ! हो, नेपाली पत्रकारिता धमिल्याउने एक नम्बरका पाखण्डी तिनै हुन् । अरु नेपाली पत्रकारको पारा पारपारको छ । समाचारमा लेख्ने कुरा स्रोतको हवाला दिँदै सामाजिक सञ्जालमा लेख्छन् । अनावश्यक होहल्ला मच्चाउँछन् । पत्रकारभन्दा दलको खाँटी कार्याकर्ताको परिचय दिन्छन् । कार्यक्षेत्रमा स्वतन्त्र पत्रकारिताको गफ हाँक्छन् । आफैँ माफी माग्दै सत्तासँग अंगालो हाल्छन् । कोही पत्रकार आफ्नै मिडियामा आफ्नै सन्तानको बिहेको समीक्षा छाप्छन् । कोही आफूलाई पुत्रपुत्री लाभ भएको सचित्र समाचार हाल्छन् ।
कार्ड होल्डर अधिकांश पत्रकार वर्षाैं दिनमा एउटै समाचार, लेख लेख्दैनन् । अनेक पेशा कर्ममा आवद्ध हुन्छन् । कोही पत्रकार आचारसंहिता विपरीत हाकाहाकी आफूलाई दलको भातृ संगठनको नेता घोषणा गर्छन् । हर समय त्यही दल र संगठनको लबीमा लाग्छन् । महासंघको चुनावमा उठ्दा होस्, आफ्नै दलको भातृ संगठनको नेता बन्नुपर्दा होस्, अनेक नियुक्ति खानुपर्दा होस् या कुनै फाइदा लिनुपर्दा होस्, निधारमा दलको टीका लगाउँछन् अनि तिनै मुखले स्वतन्त्र र निष्पक्ष पत्रकारिताको नारा उराल्छन् । कमसेकम पत्रकार नै दलको भातृ संगठनको सदस्य भए पनि त हुन्थ्यो । गैर पत्रकारलाई नेता बनाउँछन् । नेता बन्न पनि पार्टीको नेताले निधारमा हात राखेर तथास्तु भन्नुपर्छ ।
यस्तो चरित्रधारी नवरंगीहरू पत्रकारितालाई झन् धमिलो पार्ने अर्काथरि पत्रकार हुन् । पत्रकारिता तथा आमसञ्चार विषयका स्कूल, कलेज, विश्वविद्यालय, शिक्षक, प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, बिट पत्रकारका अन्य विभिन्न संगठन पनि यसमा दोषी छन् । किनकि यी निकायले मर्यादित र सन्तुलित पत्रकारिता गराउन प्रभावकारी भूमिका खेल्न सकेको देखिदैँन । नेपाल पत्रकार महासंघको टिकटसमेत दलको नेताले बाँड्नुपर्छ भनेपछि महासंघको नेतृत्व जोबाट तथास्तु भएर आएको छ उसैको हुने भइहाल्यो । अर्काेतिर बिट पत्रकारिताका नाममा व्यावसायिक पत्रकारिता मर्दै र लोप हुँदै गएको छ ।
यसै नाममा अनेक संगठन खोलिन्छ । ती क्षेत्रका पार्टीसँग मिलेर पत्रकार विदेश सयर गर्नदेखि अनेक प्रोजेक्ट वर्कमा संलग्न हुन्छन् । त्यहाँभित्रको गलत धन्दा फाइदामा रूपान्तरण हुन्छ । सतही आँखाले बाहिरबाट हेर्दा बिट पत्रकरिताको विकास र विस्तार भएको जस्तो देखिए पनि अन्तर्यमा पत्रकार प्रभावित भएर र उनीहरूलाई प्रभावमा पारेर वास्तविक पत्रकारिता सिध्याउने कार्य भइरहेको छ । एकाध अपवादलाई छाडेर बिट पत्रकारिताका नाममा यसरी नै समग्र पत्रकार र पत्रकारितालाई नै चोक्टा चोक्टा पारी कमजोर बनाउने कार्य भइरहेको छ । होइन भने, ती विभिन्न बिटका विकृति, विसंगतिका समाचार किन आउन छाडे त ? यस्ता विषयका जरा जरा उजागर नगरी केवल सूचना सम्प्रेषण गर्ने कार्य मात्र किन भइरहेको छ त ?
अब पत्रकारिता बिट वा विधामा मात्र होइन, विविधतामा आधारित हुुनुपर्छ भन्ने मान्यता स्थापित नगर्ने हो भने नेपाली पत्रकारिताको कंकाल मात्र बाँकी रहनेछ । अभ्यासमा लाइभको जमाना आएको छ । अपराध कर्ममा संलग्न भएकै व्यक्ति किन नहोस्, उसैलाई लाइभ ल्याइ ल्याइ अनुसन्धान प्रक्रियालाई नै बिथोल्न खोज्छन् साथीहरू । यसको कारण जिम्मेवार पत्रकारिता सिद्धिँदै र कमाउने मात्रै पत्रकारिता मौलाउँदै जानु हो । जे दिए पनि जसको दिए पनि, राम्रो दिए पनि नराम्रो दिए पनि, इमान्दारको दिए पनि बेइमानको दिए पनि दिनैप¥यो, टिआरपी बढाउनै पर्यो, गुगल विज्ञापन झार्नै पर्यो भन्ने गैरजिम्मेवारपूर्ण पत्रकारिता हो । अहिले त फेरि जे पनि लाइभ गर्ने जमाना आयो ।
आफ्नै हात जगन्नाथ भनेजस्तो कोही पत्रकार र मिडिया यस्ता छन्, जो आफनै प्रचारप्रसार गर्छन्, मानौँ कि ती मिडिया जनताका सार्वजनिक पुँजी होइनन् । उनीहरूकै प्रचारप्रसारका लागि खोलिएका हुन् । अनि यी र यस्तो पत्रकारितामा कहाँ छ विश्वसनीयता ? कहाँ छ सन्तुलन ? समग्रमा अहिलेको अवस्थामा केही अपवादबाहेक नेपालमा व्यावसायिक, सन्तुलित र विश्वसनीय पत्रकार र पत्रकारिता छन् भन्नु भ्रम छर्नु मात्र हो । अतः पार्टी, संगठन, गुट, बिट, ठोक्ने, बोक्ने, टोक्ने, कमाउने, रमाउने, आग्रही, पूर्वाग्राही, मिसन, कमिसन जे–जस्तो पत्रकारिता भए पनि दिइने विषय सत्य, तथ्य होस् भन्ने मात्र हो ।
दीपक खनाल । काठमाडौं