सूचनाको शक्ति - The Power Of Information

        

बर्षाका कारण सुदूरपश्चिमका सात जिल्ला प्रभावित

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

तराईसँग जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका र चुरे गाँउपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । गाउँसहित भाँसिएको सडक सुचारु हुन अझै केही समय लाग्ने छ ।

सोमबार रातिदेखि अवरुद्ध भएको भिमदत्त राजमार्ग अझै खुल्न सकेको छैन । कैलालीको गोदावरी नगरपालिका– ४ अन्तर्गत बुढितोलाको भावर क्षेत्रमा पहिरो जाँदा अवरुद्ध बनेको सडक सुचारु हुन नसकेको हो ।

भीमदत्त राजमार्गको भ्याँगुत्ते पानीको पहिरो मात्र डोजरले हटाइएको छ । यद्दपि राजमार्गको विभिन्न क्षेत्रमा पहिरो र रुख रहेकाले डोजर सडक भाँसिएको क्षेत्रमा पुग्न समय लाग्ने भएको हो ।

सडक ठाउँ–ठाउँमा चिरा परेर भासिएका कारण तत्काल यातायात खुल्ने संभावना छैन । पहिरो आउने क्रम जारी रहेकाले अरोध हटाउन कठिनाइ भइरहेको छ ।

सडकको पहिरो डिभिजन कार्यालय महेन्द्रनगरको प्राविधिक समूहले हटाउने प्रयास गरिरहको सडक डिभिजन कार्यालय कञ्चनपुरका सव–इन्जिनियर नरेश भट्टले जानकारी दिनुभयो ।

सडक डिभिजन विभाग र सुरक्षाकर्मीले भाँसिएको सडक क्षेत्रमा पहिरो पन्छाउने काम गरिरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाबाट आएका र तराईबाट पहाडजाने सवारीसाधन बाटोमै रोकिएका छन् भने सयौँ यात्रुहरू अलपत्र परेका छन् ।

बाटो अवरुद्ध भएपछि विषेशगरी वृद्धवृद्धा र बिरामीलाई समस्या भएको छ । करिब एक घण्टा पैदल हिँडेर पहिरो गएको ठाउँ पार गरिरहेका उनीहरुलाई गन्तव्यमा पुग्न कठिन भएको हो ।

पहिरोकै कारण सडकसँगै बुढितोलाको एक बस्तीनै प्रभावित बनेको छ । सडक माथी पर्ने भावरटोलका ८ घरमा चिरा परेको छ, भने केही घरहरु भत्केका छन् । राति ११ बजेपछि शुरु भएको पहिरोका कारण मानवीय क्षति नभएपनि भौतिक क्षति निकै भएको छ ।

बुढितोलामा गएको पहिरोले अवरुद्ध बनेको सडक खुल्न केही समय लाग्ने देखिएको छ । सडक माथीको गाउँसमेत चिरा परेर भाँसिएका कारण यही सडकलाई मर्मत गरेर दीर्घकालीन समस्या समाधान गर्न कठिन छ ।

तसर्थ यसको विकल्प खोज्ने या यही सडकलाई मर्मत गर्ने सम्बन्धित निकायले तत्काल तदारुकता देखाउन जरुरी छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १८:४९