सूचनाको शक्ति - The Power Of Information

        

कालोसूचीमा चढ्दै बाँकेका बोर्डिङ्ग स्कुल

बैंकमा उपलब्ध गराएको ऋण समयमै नतिरेका बोर्डिङ्ग स्कुललाई बैंकले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएका छन् । बाँकेका झण्डै आधा दर्जन बोर्डिङ्ग स्कुलबिरुद्ध इनभेष्टमेन्ट मेघा बैंकले प्रक्रिया अघि बढाएको छ ।

बैंकले ती स्कुलका धनी बिरुद्ध ३५ दिने सूचना सार्वजनिक गर्दै कर्जा भुक्तानी गर्न अन्यथा कालोसूचिमा राख्ने चेतावनी दिएको छ । बैंकले साउनको पहिलो साता ३५ दिने सूचना जारी गर्दै कर्जा भुक्तानी गर्न आउन हुन निर्देशन दिएको थियो । अन्यथा धितोमा रहने सम्पत्ति लिलामीमा राख्ने तथा कर्जा सुचना केन्द्रको कालोसूचिमा नाम समावेश गर्ने भनिएको छ ।

मेगा बैंकले कोभिड महामारीपछि समस्यामा परेका स्कुललाई ऋण उपलब्ध गराएको थियो । एकवर्षमा ऋण दिने सम्झौता कार्यान्वयन भएपछि थप एकवर्षको म्याद थपिएको थियो । उक्त अवधिमा पनि ऋण नतिरे पनि बैंकले थप प्रक्रिया चलाएको हो ।

बैंकले कालोसूचिमा नाम समावेश गर्ने भएपछि बिद्यालय सञ्चालकहरु तनावमा छन् । आर्थिक संकटका कारण बिद्यालय चलाउनै मुस्किल भएको बताउँदै उनीहरुले केही समय पर्खिनुपर्ने बताउँछन् । एक बिद्यालय सञ्चालकले भने,–‘सर्त बमोजिम ऋण तिर्नुपर्नेमा कुनै शंका छैन । तर अहिलेको आर्थिक संकटलाई पनि हेरिदिए हुने ।’

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १८:३०