राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनमा प्रतिनिधिसभा सदस्यको चुनाव लड्दा मतदातासमक्ष विभिन्न ‘लोकप्रिय’ वाचा गरेका थिए । एउटा चुनावी भाषणमा उनले भनेका थिए, सय दिनभित्र विदेशमा काम गर्ने कम्तीमा १०० जना नेपालीलार्ई स्वदेश फर्काएर यही रोजगारी दिलाउनेछु ।’ नभन्दै उनले आफू निर्वाचित भएको सयौं दिनमा विदेशमा रहेका नेपालीहरुका लागि एक सयवटा रोजगारी सिर्जना गरेको घोषणा गर्दै ‘भ्याकेन्सी अनाउन्समेन्ट’ गरे ।
लामिछानेले ‘Job Opportunity For Nepali Citizen In Nepal’ भन्दै सार्वजनिक गरेको विज्ञापनमा ६ वटा समूहमा रोजगारीका लागि आवेदन माग गरिएको छ । झट्ट हेर्दा लाग्नसक्छ– रविले बोलेको कुरा पूरा गरे, वचनका पक्का रहेछन् । यहाँ धेरै नेताहरु चुनावमा गरेका भाषण जितेको भोलिपल्टै बिर्सिन्छन् । रविले बिर्सिएका रहेनछन् । यसमा उनलाई धन्यवाद नै दिउँ । तर, के निकालेको यो भ्याकेन्सीले सय युवालाई विदेशबाट स्वदेश फर्काउन सक्ला त ?
अलिकतिमात्रै गहिराइमा गएर विश्लेषण गर्ने हो भने रविको यो कथित भ्याकेन्सी आफ्नो फेस सेभिङ गर्न र जनताको आँखामा छारो हाल्न मञ्चन गरिएको सस्तो स्टन्ट सिवाय केही पनि प्रतित हुँदैन । अरु राजनीतिक दल र नेताहरुलाई गाली गरेर उदाएका, जनतालाई विकास र समृद्धिको सपना देखाएका रविको भिजनशून्यता नराम्ररी उदांगो भएको छ । उनको सोच र चिन्तनको कमजोर स्तर छताछुल्ल भएको छ । पहिलो कुरा त यो ‘भ्याकेन्सी’ले सामान्यतया रोजगारीको विज्ञापनमा अपनाइनुपर्ने न्यूनतम मापदण्ड नै पूरा गरेको छैन ।
यसमा उल्लेख भएका रोजगारी कुन कार्यालयको निम्ति माग भएका हुन् ? त्यो पदका निम्ति चाहिने शैक्षिक योग्यता र अनुभव कति हो ? यसको वास्तविक रोजगारदाता को हुन् ? यी महत्वपूर्ण प्रश्नहरुको जवाफ रविको सूचनामा छैन । आफैंले रोजगारी सिर्जना गरेको भान पार्नलाई उनले वास्तविक रोजगारदाता नखुलाएका हुन् भन्ने आँकलन गर्न सकिन्छ । यथार्थमा यी सय रोजगारी रविद्वारा सिर्जित नभएर संकलित हुन् ।
न उनले न त उनको पार्टीले नै कुनै उद्योग व्यवसाय गरेका छन् । यदि कुनै नवप्रवर्तनको काम गरेर ८–१० जनालाई मात्र रोजगारी दिएको भए पनि बरु त्यसले सांकेतिक अर्थ राख्थ्यो । तर, अरु संघसंस्थाहरुलाई दबाबमा वा प्रभावमा पारी उनीहरुका नियमित भ्याकेन्सी बटुलेर आफ्नो फेसबुकमा पोस्ट गर्दै विदेशबाट नेपाली फर्काउने कुरा गर्नु जस्तो टिठलाग्दो राजनीति अर्को के हुन्छ ? यसले लामिछानेलाई क्षणिक आत्मरति मिल्नसक्ला, तर जनतालाई केही पनि दिँदैन ।
लेखकको मनमा पैदा भएको जिज्ञासा, रविले यति बेतुकसँग १०० वटा विज्ञापन सार्वजनिक गरेको देख्दा उनकै पार्टीमा रहेका स्वनामधन्य अर्थशास्त्री डा.स्वर्णिम वाग्ले र ख्यातिप्राप्त पूर्वबैंकर अनिलकेशरी शाह मनमनै कति हाँसे होलान् ? तर, शक्तिशाली सभापतिलाई सम्झाउने वा उनीमाथि प्रश्न उठाउने ल्याकत उनीहरुले कसरी जुटाउन सक्थे ? यस्ता उटपट्याङ कुरामा प्रश्नोत्तर र बहस गरेर समय खेर फाल्नुभन्दा मौनव्रत बस्दा नै ठीक हुन्छ भन्ने पनि लाग्यो होला उनीहरुलाई ।
यो विज्ञापनको संवेदनशील पाटो अर्को पनि छ । यसले देशभित्रै रहेका बेरोजगार युवायुवतीहरुको अवहेलना गरेको छ । के देशमा रहेका सबै नेपालीहरुलाई रोजगारी पुगिसरी भइसकेर रविले विदेशबाट गुहारेका हुन् ? होइन भने विदेशमा काम गरिरहेकालाई टिकटसमेत काटिदिएर स्वदेश फर्काउन खोज्नुको तात्पर्य के हो ? देशभित्र काम पाउन पनि पहिले विदेशिनुपर्छ भन्ने उपहासपूर्ण सन्देश रविले सञ्चार गरेका छन् । देशभित्रका बेरोजगार युवायुवतीलाई गिज्याएका छन् ।
अब अर्को महत्वपूर्ण प्रश्नमा जाउँ । के रोजगारीका लागि विदेशिनु गलत नै हो त ? हामी नेपालीहरू, नेतादेखि जनतासम्मले परम्परागत रुपमा एउटा गलत सोच पालिरहेका छौं कि युवाहरु विदेशिनु भनेको साह्रै दुःखदायी कुरा हो । सूचना प्रविधिमा भएको अद्भूत विकास तथा परिवहनको सुलभताले देश–देशको भौगोलिक दूरीलाई घटाएको छ र समग्र विश्वलाई एउटा गाउँको रुपमा परिणत गरिदिएको छ । यसर्थ अवसरको खोजीमा एउटा देशबाट अर्को देशमा जानु सामान्य भइसकेको छ ।
आज क्युबाको नाम लियो भने विश्वभर दक्ष चिकित्सक पठाउने देशको रुपमा चिनिन्छ । फिलिपिन्सले दक्ष नर्स विश्व बजारमा पठाउने देशको परिचय पाएको छ । हाम्रै छिमेकी देश भारतले सूचना प्रविधि क्षेत्रको दक्ष जनशक्ति ठूलो संख्यामा विश्व बजारमा आपूर्ति गर्छ । तर अफसोच, हाम्रो देश नेपाल भने कठोर र जोखिमपूर्ण काम गर्ने सस्ता मजदुरहरु पठाउने देशको रुपमा चिनिन्छ । समस्या यहाँनेर छ । आज नेपालीहरु देशभित्र रोजगारी नपाएर ठूलो संख्यामा विदेशिएका छन् । र, उनीहरुमध्ये धेरैले विदेशमा सस्तो र कठिन श्रम गरिरहेका छन् ।
थोरै संख्यामा नेपालीहरु छन्, जसले विभिन्न देशका विश्वविख्यात विद्यालयमा प्राध्यापक, बहुराष्ट्रिय कम्पनीका उच्चपदहरू, विभिन्न देशका सरकारी निकायहरूका जिम्मेवार ओहदामा रहेर सम्मानित जीवनयापन गर्नुका साथै आफ्नो देशलाई चिनाइरहेका पनि छन् । यदि हामीले ठूलो संख्यामा यस्तो दक्ष जनशक्ति उत्पादन गरेर विश्व बजारमा पठायौं भने त्यसले हाम्रो देश कमजोर होइन, बलियो हुन्छ । अहिलेको ज्वलन्त आवश्यकता भनेको हामीले विश्वव्यापी रुपमा बनाएको ‘सस्ता मजदुर’ को पहिचानलाई परिवर्तन गर्नु नै हो । यो वर्षमात्र करिब साढे सात लाख नेपाली दाजुभाइ तथा दिदीबहिनी रोजगारी र अध्ययनका निम्ति विदेशिएका छन् ।
तीमध्ये करिब ९८ प्रतिशतभन्दा बढी साउदी अरबको ५० डिग्री तापक्रमभन्दा बढ़ीको मरुभूमिदेखि मलेसियासम्म कठोर र जोखिमपूर्ण कामका निम्ति गएका हुन् । प्रत्येक दिन विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने हाम्रा दाजुभाइ तथा दिदीबहिनीको कफिनले हामीलाई असाध्यै पिरोल्छ । तर पनि हामी चुप छौं र यसलाई नियतिको संज्ञा दिँदै चित्त बुझाउन बाध्य छौं । हामी सबैले बुझेको कुरा के हो भने नेपालमा उद्योग सञ्चालन गर्न निकै गाह्रो छ । उद्योगका लागि चाहिने कच्चा पदार्थका लागि अन्य देशमा निर्भर हुनुपर्ने स्थिति छ ।
अनि नेपालमा भन्दा कैयौं गुणा सस्तोमा हाम्रो छिमेकी देश चीनले जुनसुकै मालसामान उत्पादन गर्छ । खुला बजारका कारण भारत–चीनबाट आउने वस्तुहरुसँग हाम्रा उत्पादनहरुले प्रतिस्पर्धा गर्न सक्दैनन् । हिन्दू धर्मावलम्बीहरुले लगाउने जनैसमेत चीनबाट ठूलो परिमाणमा आयात हुने गरेको यथार्थ हामीसामु छ । त्यसैले नेपालले आर्थिक समृद्धिको मार्गचित्र कोर्ने उपाय भनेको ‘सर्भिस डेलिभरी’ हो । नेपालले आफ्नो देशलाई चाहिनेभन्दा बढी भएको दक्ष जनशक्तिलाई विश्व बजारमा पुर्याउनै पर्छ । यसले विश्वभर नेपाली आफ्नो प्रतिभा र क्षमता देखाउँदै देशको गौरव बढाउन सफल हुनेछन् । अहिले अमेरिका, अष्ट्रेलिया, क्यानडा र बेलायत लगायत विश्वका विकसित देशहरू दक्ष जनशक्तिको अभावबाट गुज्रिरहेका छन् ।
ती देश विश्वभरिबाट कसरी दक्ष जनशक्ति आफ्नो देशमा ल्याउन सकिन्छ भन्ने होडमा छन् । नेपाल जस्तो देशले उनीहरुको प्रतिस्पर्धाबाट राम्रो फाइदा उठाउन सक्छ । यतिमात्र होइन, मध्यपूर्वका देशहरू यूएई, कतार, साउदी अरब, मलेसिया र कोरियालगायतका देशहरूमा पनि अर्धदक्ष जनशक्तिको माग दिनानुदिन रुपमा बढिरहेको छ । त्यसैले सबै राजनीतिकर्मीले कसरी हाम्रो जनशक्तिलाई अर्धदक्ष र दक्ष बनाउने भनेर घोत्लिनुपर्यो । त्यतातिर नसोचेर नेपालीहरुलाई विदेशिने बाध्यताको अन्त्य गर्छु भन्दै फोस्रो भाषण छाँट्नुले बेरोजगारी समस्याप्रतिको उदासीनता मात्र होइन, नेताहरुको अज्ञानता पनि झल्काउँछ ।
अझ रवि लामिछाने जस्ता आफैं अमेरिकामा लामो समय बसेका र त्यहाँ अनेक देशका मानिसहरु आएर कसरी आफ्नो स्थान बनाइरहेका छन् भन्ने देखेका र बुझेका नेताले यस्ता उडन्ते कुरा गर्नु उदेकको विषय हो । सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन ‘मालसामानहरू उत्पादन गर्ने विश्वकै राजधानी’ भएजस्तै भारतलाई ‘दक्ष जनशक्तिको राजधानी’ बनाउने उद्घोष गरेका थिए । त्यसको आठ वर्षमा अहिले भारत विश्वभर दक्ष जनशक्ति निर्यात गर्ने देशको एक नम्बरमा पुग्न सफल भएको छ । भारतले आफ्नो देशका नागरिकलाई दक्षता र सीप चाहिने कामका लागि विश्व बजारमा पठाउनेभन्दा सबैले प्रशंसा गरे ।
कसैले पनि आफ्ना देशका नागरिक किन बाहिर पठाउने भनेर विरोध गरेनन् । तर, हाम्रो नेपालमा कुनै नेताले आफ्नो जनशक्तिलाई बाहिर पठाउँछु भन्यो भने उसलाई ‘राष्ट्रदोही र गद्दार’ ठहर्याएर निमेषभरमै नांगेझार पारिन्छ । अन्तमा, लामिछानेज्यू लगायत सम्पूर्ण नेपाली नेताहरूलाई आफ्नो राजनीतिको रोटी सेक्न देशको बेरोजगारी समस्यामाथि यस्ता भद्दा मजाक नगर्न आग्रह गर्छु । विदेशमा रहेका नेपालीलाई फकाइफुल्याइ गरेर फर्काउने कृत्रिम प्रयास होइन, देशमै रहेका युवायुवतीको क्षमता कसरी अभिवृद्धि गर्ने र उनीहरुलाई जहाँसुकै बिक्नसक्ने बनाएर देशको वैदेशिक आय बढाउने भन्नेमा खुला बहस गर्न तयार हुनसमेत अनुरोध गर्दछु । (लेखक अष्ट्रेलियाको सिड्नी ट्रेनमा सिनियर इन्जिनियर पदमा कार्यरत छन् ।)
इ.शिशिर नेपाल । अष्ट्रेलिया