सूचनाको शक्ति - The Power Of Information

        

नक्कली शैक्षिक प्रमाणपत्र

कांग्रेस सांसद सुनिलविरुद्ध २०७३ मा पक्राउ पुर्जी, २०८० मा समातिए

‘२०७३ सालमै पक्राउ पुर्जी जारी भएको थियो, त्यसकै आधारमा पक्राउ गरिएको हो ।’

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बिहीबार सांसद शर्मालाई पक्राउ गरेको हो । काठमाडौंको गोल्फुटारस्थित निवासबाटै उनलाई पक्राउ गरिएको सीआइबी स्रोतले जनाएको छ ।

चिकित्सा क्षेत्रका विवादित व्यवसायी शर्मा गत मंसीरमा सम्पन्न निर्वाचनमा मोरङ–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनी मेडिकल कलेजको सम्बन्धन, सीट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहेका व्यक्ति हुन् । उनीविरुद्ध यसअघि २०७३ सालमा पनि पक्राउ पूर्जी जारी भएको थियो ।

सीआइबीको अनुसन्धानमा डा.शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरेको देखिएको थियो । सीआइबीले पक्राउ गर्न प्रमाण जुटाएको सुइँको पाएपछि जापान उडेका थिए । त्यसको केही महीनापछि नेतृत्वमा पुग्न प्रहरी अधिकारीबीच हानथाप चल्दा उनी जोगिएका थिए ।

त्यतिवेला सीआइबीको नेतृत्व गरेका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) नवराज सिलवालले डा.शर्माले गलत अभ्यास गरिएको भेटिएको बताएका थिए । ‘कागजातबाट शर्माले गलत अभ्यास गरिरहेको देखिएको थियो,’ सिलवालले भनेका थिए, ‘पक्राउको तयारी गर्दागर्दै म सेवाबाट बाहिरिने अवस्था आयो । अनि के भयो, मलाई थाहा छैन ।’

उनलाई त्यही नक्कली शैक्षिक प्रमाणपत्रमा पक्राउ गरिएको सीआइबी स्रोतले जनाएको छ । ‘२०७३ सालमै पक्राउ पुर्जी जारी भएको थियो, त्यसकै आधारमा पक्राउ गरिएको हो,’ सीआइबी स्रोतले भन्यो । मोरङ क्षेत्र नं.३ बाट गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए ।

शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको आशंका गरिएको छ । भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।

प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सांसद शर्माले एमबीबीएस अध्ययन गरेका थिए । सांसद शर्माले केही दिनअघि प्रतिनिधिसभा बैठकमा एक सय किलो सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा मागेका थिए ।

सांसद शर्मालाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा नियन्त्रणमा लिएको सीआइबी स्रोतले जनाएको छ । तर संसद चलिरहेका बेलामा सांसदलाई पक्राउ गर्नुअघि सभामुखलाई जानकारी हुनुपर्ने भए पनि बिना जानकारी पक्राउ गरिएको पाइएको छ । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले अहिलेसम्म सांसद पक्राउबारे प्रहरीले सभामुखलाई कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १७:१६