नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शर्मालाई आज गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
मोरङ क्षेत्र नं.३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए । शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् । प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।
तर संसद चलिरहेका बेलामा सांसदलाई पक्राउ गर्नुअघि सभामुखलाई जानकारी हुनुपर्ने भए पनि बिना जानकारी पक्राउ गरिएको पाइएको छ । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले अहिलेसम्म सांसद पक्राउबारे कुनै पनि जानकारी नआएको बताएका छन् ।
शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको आशंका गरिएको छ । भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुवेर कडायतले जानकारी दिए ।
उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । सांसद शर्माले केही दिनअघि प्रतिनिधिसभा बैठकमा सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए । सांसद शर्मालाई सीआइबीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा नियन्त्रणमा लिएको सीआइबी स्रोतले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं