केही दिनदेखि लगातारको वर्षाले कैलालीको भजनी क्षेत्र डुबानमा पर्दा स्थानीय बासिन्दा भोकभोकै सडकमा बसिरहेका छन् । हरेक वर्ष भजनी क्षेत्र डुबानमा पर्दै आएको छ ।
यो वर्ष पनि कुसुमघाट, ढुसी, बर्दवा, कनैयापुर, बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका अधिकांश घर डुबानमा परेका छन् । करीब एक हजार जना प्रभावित भएको भजनी नगरपालिकाका मेयर केवल चौधरीले बताए ।
मेयर चौधरीका अनुसार घर डुबानमा परेपछि अधिकांश स्थानीय बासिन्दा हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बसेका छन् । भजनी वडा नं. ३, ८, ५ र ७ का बस्ती पानीले भरिएको उनले बताए ।
मोहना, कन्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी गाउँतिर पस्ता बस्ती डुबानमा परेका हुन् । ‘भजनी नगरपालिकाको आधाभन्दा धेरै भूभाग बाढीको जोखिममा छ,’ मेयर चौधरीले भने, ‘यो अहिलेको मात्रै समस्या होइन, प्रत्येक वर्ष नगरवासीले समस्या झेल्नुपर्छ ।’
नदीमा जलसतह घट्ने बढ्ने भइरहेको छ । सम्भावित जोखिमबाट जोगाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा छ । घर डुबानमा परेपछि सडकमा आएको स्थानीय जोगुराम चौधरीले बताए ।
‘ज्यान जोगाउन घर छाडेर सडक छेउमा त्रिपाल टाँगेर बसेका छौं, हामी त जोगियौं तर घरका कुनै पनि सामान ल्याउन सकेनौं,’ जोगुरामले भने । हरेक वर्ष बाढीले अन्नपात बगाउने गरेको छ । यस वर्ष पनि घरभित्रका सामान जोगाउन नसकिएको उनले बताए ।
त्यस्तै, कनैयापुरकी जोगवनी चौधरीले आफूलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेर जोगाएको बताइन् । घरबास डुबानमा परेपछि उनी दुई दिनदेखि सडकमा बस्दै आएकी छन् । ‘घरमा रहेका लत्ताकपडा बाढीले बगायो,’ उनले भनिन् ।
बाढी प्रभावितलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार गरेर सडक किनारमा राखेका छन् । विस्थापितहरूले दुई दिनदेखि खाना खान नपाएको गुनासो गरेका छन् । ‘चिउरा, चाउचाउ र पानी मात्रै खाएका छौं,’ उनले भनिन् ।
सत्यपाटी संवाददाता । कैलाली