बाँकेको कोहलपुर नगरपालिका–१२ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समूहले फलफूल उत्पादनलाई आम्दानीको स्रोत बनाएको छ ।
अन्य सामुदायिक वनहरू काठ दाउरामा निर्भर भइरहँदा सिर्जना सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा फुलफूका बिरुवा रोप्ने र त्यसको उत्पादन सदस्यलाई दामासाहीले वितरण गर्दै आएको छ ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन पौडेलले करिब ६० हेक्टर वन क्षेत्र रहेकोमा १० हेक्टरभन्दा बढीमा कागती र फलफूल रोपिएको जानकारी दिए । समूहमा १३७ घर परिवार आबद्ध रहेका छन् ।
अध्यक्ष पौडेलले भने, ‘वन क्षेत्रबाट हुने उत्पादन सदस्यलाई दामासाहीले बराबर वितरण गर्ने गरिएको छ । यसबाट समूहका सदस्यहरूको आयआर्जनमा वृद्धि हुने र वातावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास लिएका छौँ ।’
वनक्षेत्रमा दुई दशकअघि रोपिएका कागतीले उत्पादन दिइरहेका छन् । केही दिनअघि प्रतिपरिवार १० किलोको दरले उपभोक्तालाई वितरण गरिएको अध्यक्ष पौडेलले बताए । यसैगरी आँप समेत प्रतिपरिवार १० किलोको दरले उपलब्ध गराइएको उहाँको भनाइ छ ।
सामुदायिक वनभित्र प्राकृतिक रूपमा उम्रिएका रुख, बुट्यान बाहेक कागती, सुन कागती, आँप, कटहर, अम्ला, अम्बा लगायतका फलफूलका बिरुवा रोपिएको छ । तीमध्ये केहीले उत्पादन समेत दिन थालेका छन् ।
समूहले तीन वर्षअघि रोपिएका चार हजार कागतीका बिरुवाले उत्पादन दिएपछि समूहका सदस्यले राम्रो आम्दानी हुने विश्वास गरेका छन् । सामूहिक केराखेती समेत गरिएको छ ।
विद्यार्थीलाई अध्ययन अनुसन्धानका लागि वन समूहले बालज्योती माध्यमिक विद्यालय कोहलपुरलाई रैथाने जातका बिरुवा रोप्न वन क्षेत्रको जग्गा समेत उपलब्ध गराएको छ । वन समूहले पर्यटकीय क्षेत्रमा समेत योगदान दिदैँआएको अध्यक्ष पौडेलले बताए ।
सत्यपाटी संवाददाता । बाँके