सूचनाको शक्ति - The Power Of Information

        

पौडी खेल्ने क्रममा डुबेर सुनार अझै बेपत्ता

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनारको खोजी गर्दै प्रहरी ।

पौडी खेल्ने क्रममा खजुरा गाउँपालिका वडा नं.७ स्थित जेठीनालामा डुबेर बेपत्ता भएका खजुरा ६ शान्तिनगरका १५ वर्षीय विकास सुनार अझै फेला परेका छैनन् । प्रहरीका तालिमप्राप्त गोताखोरलाई परिचालन गरेर जेठीनालामा उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खजुराका प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलवासेले चारजना साथीसहित जेठीनालामा पौडी खेल्न गएका सुनार बुधबार दिउँसो करिब २ बजे डुबेको बताए । उनले प्रहरीलाई पौने चार बजे खबर आएको जनाउँदै खबर आएलगत्तै नालामा पुगेर खोजी कार्य सुरु गरिएको तर हालसम्म पनि फेला नपरेको बताए ।

प्रहरी प्रमुख बेलवासेले बुधबार साँझसम्म खोजी गरे पनि सुनार फेला नपर्दा बिहीबार बिहानदेखि फेरि खोजी कार्य सुरु गरिएको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष गोताखोर टोलीले जेठीनालामा सुनारलाई खोजिरहेको प्रहरीले जनाएको छ ।

स्थानीय श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार डुबेर बेपत्ता भएपछि शान्तिनगर शोकमा डुबेको स्थानीयले जनाएका छन् । जेठीनालामा आएको बाढीका कारण पानीको बहाव तीव्र भएको र नाला गहिरो बनेकोले पनि खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १४:२०