सूचनाको शक्ति - The Power Of Information

        

गाउँघरमै देखिँदैनन् झट्ट ढिकी, ओखल, जाँतो र पानीघट्ट

डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुंगाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी–पिसानी गर्थे । अहिलेको जस्तो ठाउँठाउँमा मिल थिएनन् । जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई–तीन वटा मिल सञ्चालन गर्न थाले ।

मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका ढिकी जाँतोको महत्त्व हराउँदै गयो । अहिले गाउँको कुनै पनि कुनामा ढिकी, जाँतो भेट्टाउन सकिन्न । बरु घरघरमा विद्युतीय मिल भेटिन थालेका छन् । विद्युत् पहुँच नहुँदा स्थानीयले कुटानी–पसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्थे । ढिकी जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो ।

गाउँगाउँमा बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हुँदै गएका छन् । कुनै बेला गाउँलेको कुटानी–पिसानी गर्ने प्रमुख माध्यम मानिने ढिकी, जाँतो अहिलेका पुस्ताले चिन्नसमेत छाडिसकेका छन् । खोलाको ढुंगालाई मिस्त्रीले कलात्मक रूपमा कुँदेर जाँतो बनाउँथे भने काठको टुप्पोमा फलामको काँज लगाई भुइँमा पक्की ढुंगाको ओखल बनाई ढिकी बन्थ्यो ।

ढिकी, जाँतोको विकासपछि पानीघट्ट प्रयोगमा आएको बूढापाकाको भनाइ छ । पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा बनाइने गरेको पाइन्छ ।

अहिले यदाकदा पहिलेका घट्ट जीर्णावस्थामा देखिन्छन् । नयाँ प्रविधिको विकाससँगै मौलिक संस्कृति हराउँदै गएकोप्रति बूढापाका दुःखेसो पोख्छन् । नयाँ पुस्ताले पुराना संस्कृतिको संरक्षण नगर्दा आफूहरूको पालाका ढिकी, जाँतो र ओखल हराउँदै गएको निसीखोला गाउँपालिका–७ का देवबहादुर पुन मगर बताउँछन् । मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व नष्ट हुने उनको भनाइ छ ।

‘पहिले–पहिले ढिकी जाँतोमा कुटे, पिसेको आँटो, पिठो र चामलको स्वादै फरक हुन्थ्यो, अहिले मिलले कुटेको पिठो आँटो खायो भने त्यत्ति स्वादिष्ट हुँदैन । मिलले चामल, मकैको बाहिरी बोक्रासँगै त्यसभित्र हुने पौष्टिकतत्व पनि नष्ट गरिदिँदो रै’छ,’ उनले भने, ‘अहिले त खाँदाखाँदै बानी प–यो, पहिले मिलमा पिसेको आटो र चामल खासै मीठो लाग्दैनथ्यो, सजिलो मात्रै खोजेर हुँदैन रै’छ । यसले स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ भन्ने पनि बुझ्नुपर्छ ।’

अर्का स्थानीय तिलबहादुर सुनारले अहिले गाउँमा कसैको घरमा पनि ढिकी जाँतो नभएको बताउँछन् । अहिलेको पुस्ताले ढिकी कुट्न र जाँतो पिस्न गाह्रो मान्ने हुँदा यस्ता परम्परागत सामग्रीको अस्तित्व संकटमा पर्दै गएको उनको भनाइ छ । पहिले आफ्नो परिवार ११ जनाको हुँदा घरमा दुई वटा जाँतो र एउटा ढिकी रहेको स्मरण गर्दै पालैपालो आँटो पिठो पिसेर उपभोग गरेको सुनार बताउँछन् ।

अहिले मिलले मान्छेलाई अल्छी बनाउनुका साथै रोगीसमेत बनाएको उनको बुझाइ छ । उनका अनुसार पहिले ढिकीमा आँटो, पिठो र सातु पिस्ने गरिन्थ्यो भने ढिकीमा चामल, जौ र गुन्द्रुक बनाउनका लागि मुला कुट्ने गरिन्थ्यो । खासगरी तिहारका बेला ढिकी जाँतो बढी प्रयोग हुने गरेको सुनारले बताए । तिहारको बेला ढिकीमा कुटेको चामलको पिठोले टीका लगाउने, दयो बनाउने र नुन कुटेर वस्तुभाउलाई खुवाउने गरेको स्मरण गर्दै अहिले त्यो प्रचलनसमेत हराएको सुनारको भनाइ छ ।

मिलले कुटानी पिसानीका लागि सहज बनाइदिनुका साथै समयको बचतसमेत भएको स्थानीय ७३ वर्षीया शोभाकुमारी क्षेत्रीले बताइन् । पहिले पानीघट्ट तथा जाँतोमा आँटो पिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानी पिसानीका लागि जाने गरेको उनले सुनाइन् । पहिले पानीघट्ट सञ्चालन गरेकाहरू बन्द गरेर बस्न बाध्य भएको उनको भनाइ छ ।

‘घट्ट सञ्चालकले मकै, कोदो, गहुँ, फापर पिस्न आउनेबाट थोरै महसुल उठाउने गर्थे, त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए । अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान्छन्, घट्टमा कोही पनि आउँदैनन्,’ उनले भने, ‘मिलले ढिकी जाँतो र घट्टले भन्दा छिटो कुट्ने पिस्ने काम गरेर होला । पहिले निकै चलको घट्ट अहिले जीर्ण बनेका छन् ।’

स्रोत : रासस
प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १३:५५