सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थपिँदै ठूला लगानीका उद्योग, स्थानीयलाई रोजगारी

बाँकेमा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन् । बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपालिका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन् ।

कैलालीको लम्कीमा पशुपक्षी र मानिसलाई आवश्यक खाद्यवस्तु उत्पादन गर्दै आएको डल्फिन ग्रुपले भर्खरै कोहलपुर–७ लखनावरमा २ अर्ब ५० करोड बढीको लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ । यहाँ केएल दुगड ग्रुपको खाद्य उद्योग, जयमंगलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एन्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गंगा रोजिन एन्ड टर्पेन्टाइन, पानस फर्मास्युटिकल्सजस्ता उद्योग सञ्चालनमा छन् ।

सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महँगा र नाम चलेका गाडीका सोरुम पनि यहीँ छन् । पश्चिम नेपालभर आफ्नो उत्पादन विस्तार गर्न कैलालीबाट बाँकेमा उद्योगलाई विस्तार गरेको डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार डल्फिन ग्रुपले कोहलपुरमा पशुपक्षीका लागि अत्याधुनिक दाना उद्योग, मानिसका लागि चामल मिल, आटा उद्योग, सोयाबोडी र चिउरा तथा भुजा उद्योग सञ्चालन गरेको छ ।

यीमध्ये दाना उद्योग नेपालकै सबैभन्दा आधुनिक उद्योग हो । चाइनिज प्रविधिको यो दाना उद्योगको उत्पादन क्षमता प्रतिघण्टा १५ टन छ । ‘पशुपक्षीको दाना र मानिसका लागि आवश्यक खाद्यान्न अन्य प्रदेशबाट आयात गर्नुपर्ने बाध्यता अब छैन । हामीले बाँकेबाट देशभर नै उत्पादन विस्तार गरिरहेका छौं,’ अध्यक्ष थापाले भने, ‘हाम्रा उत्पादन सहज, सुलभ र गुणस्तरीय रुपमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।’

अत्याधुनिक पूर्ण स्वचालित उद्योग भएकाले डल्फिन ग्रुपको दानाको गुणस्तरमा कुनै पनि कमी–कमजोरी नहुने उनको दाबी छ । डल्फिन समूहले तीन वर्षदेखि कोहलपुरमा उद्योग सञ्चालन गर्दै आएको छ । डल्फिन ग्रुपले सञ्चालन गरेका उद्योगमा करिब ५०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । उद्योग व्यवसायको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्दै गुणस्तरीय उत्पादनमा आफूहरुले जोड दिँदै आएको डल्फिन ग्रुपका प्रबन्ध निर्देशक तीर्थ थापाले उल्लेख गरे ।

नेपालगन्ज औद्योगिक क्षेत्रमा झन्डै करिब तीन दर्जन उद्योग सञ्चालनमा रहेका बेला कोहलपुरको पिपरी, पार्वतीपुर र जानकी गाउँपालिकाको गनापुर क्षेत्रमा भने औद्योगिक क्षेत्रको तुलनामा आन्तरिक खपत तथा निर्यातमा महत्त्व राख्ने दोब्बर ठूला उद्योग सञ्चालनमा छन् । बाँकेमा उद्योग सञ्चालन गरेर पश्चिम नेपालमा उत्पादन तथा बिक्री वितरण गर्न ढुवानी कम लाग्ने र यहाँ उद्योगका लागि आवश्यक जग्गा जमिन पनि सहजै पाइने भएकाले ठूला उद्योग थपिँदै गएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १३:३४