सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीबाट श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । आर्थिक वर्ष २०७९–०८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल सङ्ख्या तीन हजार ३०० रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले आव २०७५–०७६ मा ९१९ पुरुष र महिला सात जनाले पुनः श्रम स्वीकृति लिएका जानकारी दिए । उनका अनुसार २०७६–०७७ मा एक हजार ९९० पुरुष र ३६ महिला, २०७७–०७८ मा ६६७ पुरुष र आठ महिला र २०७८–०७९ एक हजार पाँच पुरुष र २६ महिलाले श्रम स्वीकृति लिएका थिए ।

आफ्नो देशमा भन्दा अन्य देशमा काम गर्न बढी रुचाउने भएकाले गर्दा पनि विदेशिनेको सङ्ख्या बढ्दै गएको उनले बताए । श्रम तथा रोजगारका लागि नेपालबाट साउदी, कतार मलेसिया, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा जानेको सङ्ख्या बढिरहेको जनाइएको छ ।

उनले भने, ‘उच्च शिक्षामा व्यवसायी तथा सीपमूलक शिक्षा अनिवार्य गर्नुपर्छ ।’ कर्णालीको सल्यानबाट धेरै श्रम तथा रोजगारका लागि जाने गरेको उनले बताए । वीरेन्द्रनगर–१ का भद्र सुनारले सरकारले स्वदेशमा नै रोजगारको व्यवस्था मिलाउन सकेमा विदेशीनेको संख्या कम हुन्छ भने ।

स्रोत : रासस
प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १३:१३