कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)लाई सुर्खेतमा सारिने भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा सार्न लागिएको हो ।
त्यसका लागि दुलालथाईमा रहेको २३ बिघाहा जग्गा उपलब्ध गराउन सबै प्रकृया पुरा गरी गृह मन्त्रालयसम्म फाईल पेश गरिसकिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रहरी गतिविधि सार्वजनिक गर्दै नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके (हाल नेपालगन्ज) लाई भने सुर्खेतकै गुर्भाकोट नगपरपालिकामा सार्न लागिएको छ ।
गुर्भाकोटको १३ र १४ नम्बर वडाको गुमीमा साढे चार बिघाह जग्गा प्रप्तिको लागि आवश्यक प्रक्रिया पुरा भएको छ । २०८० असार २६ गतेको मन्त्रीपरिषद्को निर्णयमार्फत नेपाल प्रहरी विशेष सुरक्षा गणको नाममा प्राप्त गर्न सफल भएको थियो ।
उक्त स्थानमा कार्यालय स्थानान्तरणको निमित्त भवन निर्माण र मर्मत कार्यको लागि आवश्यक पर्ने बजेटको एस्टिमेट गरी कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयमा पेश गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख भिमप्रसाद ढकालले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयहरूको स्थानान्तरणका लागि वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीस्थित कर्णाली प्रदेश प्रहरी गणको नाममा रहेको ३ बिगाह ८ कट्ठा जग्गामध्ये दुइ बिघाह जग्गामा पुलिस स्कुल, एक बिघाह जग्गामा प्रदेश प्रहरी कार्यालय र ८ कट्ठा जग्गामा केनाइल शाखा राख्नका लागि आवश्यक प्रक्रिया पुरा भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख ढकालका अनुसार प्रहरी कार्यालयहरूको स्थानान्तरणका लागि आवश्यक प्रक्रिया पुरा गरी प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको छ । सबै फाइलहरु हाल गृह मन्त्रालयमा पुगिसकेकाले यसै वर्षदेखि संरचना निर्माणको काम अघि बढ्ने सम्भावना बढी रहेको कार्यालयले जनाएको छ ।
सत्यपाटी संवाददाता । बाँके