सूचनाको शक्ति - The Power Of Information

        

‘घर ज्वाइँ’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई ‘घर ज्वाइँ’ बन्ने भएका छन् । उनी रियलमा नभएर रिल लाइफमा घर ज्वाइँ बन्ने भएका हुन् । अनिल बुढामगरको निर्देशनमा बन्न लागेको फिल्म ‘घर ज्वाइँ’मा दयाहाङ मुख्य भूमिकामा देखिनेछन् ।

आगामी माघबाट छायाङ्कन सुरु हुने फिल्मको निर्माता जनक घर्तीमगर हुन् । फिल्मको छायाङ्कन रुकुममा हुने बताइएको छ । विनोद खतिवडा, सुवास कोइराला र निर्देशक मगर स्वयंको लेखन रहेको ‘घर ज्वाइँ’मा शिशिर वाङ्देल र राज थापा मगरको समेत अभिनय रहनेछ ।

फिल्ममा दयाहाङको अपोजिटका लागि अभिनेत्री छनौट बाँकी छ । फिल्मलाई रोहित–रत्नको आरआर फिल्मस्ले वितरण गर्ने जनाइएको छ ।

निर्देशक मगरले सन् २०११ मा ‘लोम्बा’ नामक फिल्मको निर्देशन गरेका थिए । यो फिल्म सार्वजनिक प्रदर्शनमा नआएको भए पनि एक अमेरिकी फिल्म फेस्टिभलमा केही विधामा अवार्ड जितेको थियो । उनले फलाम खानीको कथामाथि फिल्म ‘आग्रे’ समेत बनाएका थिए ।

दयाहाङ पछिल्लो समय सर्वाधिक व्यस्त अभिनेता हुन् । यो वर्ष ‘कबड्डी ४’ र ‘जारी’को सफलतापछि उनी ‘हाई डिमान्ड’ मा छन् । ‘घर ज्वाइँ’ अगाडि उनी ‘रङ्गेली ग्याङस्टर’ र ‘वरिष्ठ बलराम’ फिल्ममा जोडिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १०:५८