भारी वर्षाका कारण केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, झापा, मोरङ, सुनसरी र सप्तरीका नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।
रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज र भोलि कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह केही बढ्ने पूर्वानुमान रहेको छ ।
शनिबार रातिदेखि देशभरका नदीको जलसतह उल्लेख्य बढ्ने र शनिबार र आइतबार कोसी, कन्काई, कमला र वाग्मतीका सहायक नदीमा जलसतह सतर्कता तहमा पुग्नसक्ने बताइएको छ ।
आइतबार र सोमबार बबई, पश्चिम राप्ती, कर्णाली, महाकालीका सहायक नदीमा जलसतह सतर्कता तहमा पुग्नसक्ने भएकाले साउन २७ गते रातिदेखि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ