नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले हाल तीन ठूला र संगठित अपराधको अनुसन्धान गरिरहेको छ ।
बहुचर्चित ललितानिवास जग्गा प्रकरण, राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब क्विन्टल सुनकाण्ड र शिवशिखर सहकारी ठगीबारे सीआइबीले एकसाथ अनुसन्धान गरिरहेको हो ।
उक्त प्रकरणमा जोडिएका ४५ आरोपित सीआइबीको नियन्त्रणमा छन् । ललिता निवास जग्गा प्रकरणमा सीआइबीले २० जनालाई पक्राउ गरिसकेको छ । सुन तस्करी प्रकरणमा जोडिएका १७ जनालाई विभागले सीआइबीको जिम्मा लगाएको थियो ।
शिवशिखर सहकारीका आरोपित समेत गरेर ४५ जना सीआइबीको थुनामा छन् । यी सबै आरोपितलाई राख्न ‘सीआइबी’को हिरासत कक्ष साँघुरो भएको छ । तीमध्ये ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका र शिवशिखर सहकारीका आरोपित गरेर २० जना मात्र हाल सीआइबीको हिरासत कक्षमा रहेको स्रोतले जनाएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपितलाई भने सीआइबीले काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालेको छ । उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्त, महाराजगन्ज र सोह्रखुट्टे प्रहरी वृत्तमा राखेर अनुसन्धान गरिँदै छ ।
सत्यपाटी संवाददाता । काठमाडौं