चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा वाकीटकी लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको छ ।
पहिरो गएको ठाउँमा देखिएका रास्वपाका एक कार्यकर्ताले लिएको वाकटाकी दर्ता भएको हो कि होइन भन्ने विषयमा छानिबन गर्न प्रशासनले प्रहरीलाई भनेको हो । हिजो मंगलबार नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत कालीखोलामा पहिरो गएको स्थानमा रास्वपाको चुनाव चिह्न अंकित ज्याकेट लगाएका र वाकीटाकी लिएका व्यक्ति देखिएका थिए ।
फेसबुकमा सार्वजनिक भएको उक्त फोटोमा ती व्यक्तिले लगाएको ज्याकेटमा आरएटी. (¥यापिड एक्सन टिम) लेखिएको छ । रास्वपा समर्थकहरुले पहिरो पन्छाउन र जाममा परेका सवारीसाधनको ट्राफिक व्यवस्थापन गर्न रास्वपाको टोली खटिएको प्रचार गरेका थिए । त्यसपछि प्रशासनले चासो देखाएको हो ।
कुनै दलका कार्यकर्ताले पहिरो पन्छाउने कार्यमा सहयोग गर्छौं भनेर स्वीकृति नलिएको चितवन प्रशासनले जनाएको छ । पहिरो पन्छाउन राज्यकै स्रोतसाधन र जनशक्तिको प्रयोग गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । साथै प्रशासनले विपद्का घटनामा कुनै दल वा संगठनको परिचयबिना र विपद् व्यवस्थापन समितिको स्वीकृतिमा विशुद्ध स्वयंसेवीका रुपमा मात्रै खटिन सक्ने स्पष्ट पारेको छ ।
सत्यपाटी संवाददाता । चितवन