आफैंलाई जन्म दिने आमाभन्दा छोराको उमेर दुई वर्ष मात्रै कम हुन्छ भन्दा अनौठो लाग्न सक्छ । बझाङको थलारा गाउँपालिका–३ कुचकी आमा जलादेवी दमाईंभन्दा छोरा बिर्खु दमाईंको उमेर दुई वर्ष मात्रै कम पाइएको छ ।
आमा जलाको जन्म २०३८ साल माघ ३ गते लेखिएको छ भने छोराको २०४० जेठ ३ गते लेखिएको नागरिकता भेटिएको हो । जलाले अहिले आफू ६६ वर्ष पुगेको बताइन् । अहिले ४२ वर्षमात्र भएको नागरिकताका कारण वृद्धभत्ता समेत नपाएपछि मात्र नागरिकतामा छोराभन्दा दुई वर्ष जेठी भएको थाहा पाइएको बताइन् ।
२०६३ सालमा गाउँमा गएको घुम्तीटोलीले आफ्नो नागरिकता बनाइदिएको उनको भनाइ छ । २०६३ साल चैत २४ गते गएको टोलीले आमा र २०५९ साल चैत ११ गते छोराको नागरिकता बनाइएको थियो । टोली प्रमुख विजयराज बडुले आमाको र हीरालाल चौधरीले दिएको नागरिकतामा उक्त त्रुटि भेटिएको हो ।
‘६६ वर्ष पुग्दा पनि वृद्धभत्ता पाइएन । त्यो वेला यति वर्ष भयो भनेर मुखले भनेँ साल याद नभएर साल भनिनँ । कति साल पो हालिदियो,’ वृद्धा जलाले भनिन्, ‘कसलाई भनेर मिलाउन पाइन्छ । सहयोग गरिदिनुपर्यो ।’ सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले छोराको नागरिकता बनाउँदा उक्त विषयमा ध्यान दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘त्यो समस्या लिएर अस्ति यता पनि आउनु भएको हो । त्यसमा प्रशासनको कुनै गल्ती देखिदैन । छोराको नागरिकता बनाउँदा त्यो विषयमा ध्यान दिनुपर्ने हो । त्यही पनि हामीले सिडियो साबसँग छलफल गर्न बाँकी छ । उहाँले छोराको नागरिकता बनाउँदा बुवाको मात्रै नागरिकता पेश गरेकाले यस्तो समस्या आएको हो । उहाँलाई बुवाको नागरिकता ल्याएर आउन भनेका छौं । कसरी हुन्छ । मिल्ने खालको समस्या भएपछि समाधान गर्छौं ।’
सत्यपाटी संवाददाता । बझाङ