काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेको छ ।
विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै, बाँके, बर्दिया, दाङ, सिन्धुली, मकवानपुर, बारा, धनुषा, सर्लाही, चितवनमा ठूलो पानी परेको छ । ललितपुरकाे खाेकना क्षेत्रमा पनि बाढीकाे जाेखिम रहेकाे छ भने बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ । रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन र सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बर्दियाको बबई नदीको चेपाङ, बाढीमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । बबई तटीय क्षेत्रमा आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै, सिन्धुलीको कमला नदी, रानीबासको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पनि तल्लो तटीय तथा डुबान हुने क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
दाङको लमही, भालुबाङ, कुसुम र आसपास पनि ठूलो पानी परेको छ । पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले राप्ती र यसका सहायक नदीमा बाढीको जोखिम छ ।
बाँकेको कुसुम वर्षा मापन केन्द्रमा ठूलो वर्षा मापन भएको छ । त्यस क्षेत्र भइ बहने स–साना खहरे खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम उच्च छ ।
त्यस्तै,कञ्चनपुर र कैलालीको धेरै ठाउँमा पानी परेको छ । कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रङ्घुन, पन्टुरालगायत साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा सतर्कता अपनाउन भनिएको छ । बाराको कलैया, सिमरा, निजगढ, रौतहटको गरुडा र आसपास पनि भारी वर्षा मापन भएको छ ।
बकैया नदी, जमनी नदी, पसाह नदी र अन्य नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । आज दिनभरी नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार आज दिनभरी नै पानी पर्ने सम्भावना छ । भोलि पनि यसैगरी पानी पर्ने उहाँले बताउनुभयो । मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा भइरहेको र अझै हुने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो । आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ