वीर अस्पतालमा आँखा पाकेर उपचार खोज्दै आउने बिरामीहरूको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । यद्यपि यस्तो समस्या लिएर बिरामीहरू सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूबाट आउन थालेको करिब एक महिना भइसकेको बताउँछन् अस्पतालका नेत्र रोग विशेषज्ञ डा. शङ्कर ठाकुर ।
‘हामीकहाँ प्राय बालबालिका तथा अधबैँसे बिरामीहरू आएका छन् । तर यो समस्या निश्चित उमेर समूहकालाई हुन्छ भन्ने होइन । यो प्रकोपको रूपमा फैलनुअघि नियन्त्रणको पाटोमा ध्यान दिनु अत्यावश्यक छ,’ डा. ठाकुरले भने ।
यो समस्या काठमाडौंका अस्पतालमा मात्र नभई देशव्यापी रूपमा फैलिएका विवरणहरू सार्वजनिक भएका छन् । यस समस्याका कारण विभिन्न स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् भने कतिपय स्थानमा अस्पतालको चाप थामिनसक्नु भएको जानकारहरू बताउँछन् ।
त्रिवि शिक्षण अस्पताल आँखा विभागकी सह प्राध्यापक डा.रञ्जु खरेल सिटौलाका अनुसार हाल सम्बन्धित विभागमा आउने बिरामीहरूमध्ये करिब ५० देखि ५५ प्रतिशतमा आँखा पाक्ने रोग देखिएको छ । उनले जनजीवन नै प्रभावित पार्ने गरी देखिएको यो समस्याबारे बीबीसीका केही प्रश्नको उत्तर दिएकी छन् ।
के हो आँखा पाक्ने समस्या ?
आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलन्छ । यो वर्ष यो रोग तराई भेगबाट देखिन सुरु भएको हो । अहिले देशैभरका विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै काठमाडौंसम्म आइपुगेका छन् ।
यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्छ । यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्टिभाइटिस भनिन्छ र आम भाषामा आँखा पाकेको भनिन्छ ।
कस्तो अवस्थामा यो भाइरस सक्रिय हुन्छ ?
कन्जङ्टिभाइटिस भाइरस (जीवाणु) वा ब्याक्टेरिया (सूक्ष्म कीटाणु)मध्ये एउटाको कारण हुन्छ । ब्याक्टेरियाले हुने कन्जङ्टिभाइटिस बाह्रैमास सक्रिय रहन्छ । भाइरस कन्जङ्टिभाइटिस भने विशेषतः गर्मी महिनामा वा गर्मी सकिएर हिउँद सुरु हुने समयमा सक्रिय हुन्छ ।
तराई वा गर्मी स्थानहरूबाट यसको प्रकोप सुरु हुनुले यस पटक गर्मीसँगै यो भाइरस सक्रिय भएको देखिन्छ । यद्यपि सङ्क्रमित व्यक्तिमा भाइरस कन्जङ्टिभाइटिससँगै ब्याक्टेरिअल कन्जङ्टिभाइटिसको पनि असर पर्ने सम्भावना ज्यादा हुन्छ ।
यी दुई कन्जङ्टिभाइटिसको तुलना गर्दा भाइरस बढी सङ्क्रामक हुन्छ । यो एउटा आँखाबाट अर्कोमा वा एक मानिसबाट धेरै जनामा तीव्र गतिमा फैलन्छ । उदाहरणका लागि कोरोनाभाइरसलाई लिन सक्छौँ जुन निकै सङ्क्रामक थियो ।
एडिनो भाइरसको अहिले देखिएको भेरिअन्ट निकै सङ्क्रामक छ । तर यो जति छिटो फैलन्छ त्यति नै छिटो ठीक हुने वा नष्ट हुने प्रकृतिको हुन्छ । यसले मानिसमा एन्टिबडी विकास गर्दैन ।
लक्षणहरू कस्ता देखिन्छन् ?
एडिनो भाइरसको सङ्क्रमण भएपछि सुरुमा आँखा बिझाउँछ । आँखा झिम्काउँदा समेत अप्ठेरो हुन्छ र आँसु धेरै बग्छ । बिस्तारै आँखा रातो हुँदै जान्छ । आँखाको डिल सुन्निन थाल्छ । बिहान उठ्दा चिप्रा पर्छ । एउटा मात्र आँखामा देखिएको समस्या अर्को आँखामा सर्छ ।
तर, यस भाइरसको असर आँखामा सीमित नरहन सक्छ । यसले फ्लू हुँदाका लक्षणहरू सहित मानिसको शरीरका अन्य अङ्गहरूमा पनि प्रभाव पार्छ । कतिपयलाई टाउको र घाँटी दुख्छ, ज्वरो आउँछ, कानको अगाडिको भाग सुनिनेजस्ता समस्या देखिन्छन् ।
असरहरू कस्ता हुन्छन् ?
आँखा पाक्दा बिरामीहरूमध्ये केहीको आँखा रातो हुन्छ । निरन्तर आँसु बग्छ र कचेरा जम्छ । कतिपयलाई भने आँखै खोल्न गाह्रो हुन्छ वा उज्यालोमा हेर्न सकस पर्न सक्छ । भाइरस कन्जङ्टिभाइटिस मात्र भयो भने यसले दीर्घकालीन असर पार्दैन ।
तर, यदि भाइरसको सङ्क्रमण क्षमता उच्च छ तर सङ्क्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने, त्यसले आँखाको सेतो भागको सतहमा हुने झिल्ली मात्र नभएर नानीलाई पनि असर गर्छ । ‘कर्निया’मा पनि असर गर्ने भएकाले त्यसले फुलो पार्न सक्छ । फुलो पर्नु भनेको मानिसको दृष्टि कमजोर हुनु हो ।
अस्पताल जानु उचित कि घरेलु उपचार नै पर्याप्त हुन्छ ?
एडिनो भाइरसको जीवनचक्र सामान्यता तीनदेखि चार दिनमा सकिँदै जान्छ । त्यसैले यसलाई घरमै बसेर ठीक पार्न सकिन्छ । यो कुरा बुझ्न आवश्यक छ किनकि अहिले अस्पतालहरूमा घुइँचो छ । सङ्क्रमितले व्यक्तिगत (विशेषगरी आँखाको) सरसफाइमा ध्यान दिनुपर्छ ।
दिनमा दुई तीन पटक सफा पानीले आँखा सफा गर्नु । पोसिलो खाना खानु । चिसोले सेक्नु र आँखा धेरै रातो भएको खण्डमा साधारण खालको एन्टिबायोटिक थोपा लगाउनु घरेलु उपायहरू हुन् । तर, तीनदेखि चार दिनपछि र अधिकतम पाँच दिनसम्म समस्या कम भएन भने अस्पताल जानु पर्छ ।
उज्यालोमा हेर्नै गाह्रो भयो भने तत्काल चिकित्सकको परामर्श अनुरूप अन्य जटिलता पहिचान गर्न परीक्षण गराउनु पर्छ । सोही अनुरूप औषधोपचार गराउनु पर्छ । हप्ता दिनसम्म पनि ठीक भएन भने चाहिँ भाइरसले आँखाको नानीलाई छुने जोखिम बढी हुन्छ ।
कसरी जोगिने ?
सङ्क्रमितको आँखामा हेर्दैमा यो रोग सर्दैन । तर सङ्क्रमितको आँखाबाट निस्कने आँसु वा चिप्राले सङ्क्रमण सार्छ । त्यसैले बिरामीको आँसु, चिप्रा र कचेराबाट जोगिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसका लागि सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनुपर्छ । आफूले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाल लगायत सामग्रीहरू अरूको पहुँचबाट टाढा राख्नुपर्छ ।
सङ्क्रमितको वरपर बस्ने मानिसहरू पनि उत्तिकै सजग भएर सतर्कता अपनाउनु पर्छ । विशेषगरी सङ्क्रमित बालबालिका तथा वृद्ध वृद्धाको ख्याल राख्ने मानिसहरूले आफूलाई जोगाउनु चुनौतीपूर्ण हुनसक्छ । सबैले हातले नाक, आँखा र मुख नछुनु अहिलेका लागि प्राथमिक उपायहरू हुन् ।
चस्माले छेक्दैन
अस्पताल आउने अधिकांश सेवाग्राही कालो चस्मा लगाएका आउँछन् । यद्यपि कालो चस्माले सङ्क्रमण हुनबाट जोगाउँछ भन्ने होइन । यसका दुई फरक महत्त्व छन्, पहिलो आँखा धेरै रातो भएकाहरूले थप बाह्य सङ्क्रमण वा सम्पर्कबाट जोगाउनु हो ।
त्यस्तै दोस्रो नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठेरो हुने भएकाले त्यसबाट जोगिनु । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं