सूचनाको शक्ति - The Power Of Information

        

चितामा राखेको शव प्रहरीले लिएपछि…

कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज अपराह्न चिताबाटै उठाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो ।

कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको आज दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि उनको शव कनकाई माईमा पुर्याएको थियो । तर, प्रहरीले घाटबाटै शव उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले स्थानीयको मौखिक उजुरीका आधारमा शव नियन्त्रणमा लिँदै पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिए । कनकाई–३ निवासी ५० वर्षीय चोपेन्द्र कोचकारका दुई जना श्रीमती रहेको र मृतक पूजा उनकी कान्छी श्रीमती भएको बताइएको छ ।

प्रायजसो घरमा झैझगडा भइरहने र जेठी श्रीमती तथा उनका श्रीमानको कुटाइबाट उनको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘स्थानीयको मौखिक उजुरीपछि पूजाको शव परीक्षणका लागि लगिएको हो,’ डिएसपी कार्कीले भने । पूजाको बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

उनका श्रीमान् चोपेन्द्र ठेक्कापट्टाको काम गर्दै आएको जनाइएको छ । चोपेन्द्रको परिवारमा यसअघि दुई श्रीमती र श्रीमानबीच मादक पदार्थ खाएको विषयमा झैझगडा हुँदै आएको स्थानीयले बताएका छन् । मृतक पूजाका १० वर्षीय एक छोरा रहेको जनाइएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार २०:०९