केही समयअघि सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा I CARE YOU नामको एउटा पेज देखियो, हेर्दा आँखालाई सितलता प्रदान गर्दै थियो । आवाजविहीनको आवाज बनेको देख्दा मनलाई सन्तुष्टि मिलिरहेको थियो । जीवनमा सेवा धेरै देखे । कोही नामको लागि, कोही दामको लागि, कोही नाम दामको लागि त कोही निस्वार्थ भावनाले आनन्दपूर्वक मन शान्तको लागि ।
यहाँ पनि त्यही मन शान्तको लागि सेवा गरेको देखियो । बोल्न सक्नेले मलाई यतातिर, यहाँँनेर दुखेको छ, धेरै दुखिरहेको छ भन्दै सहयोगको अपिल गर्छ, जो बोल्न सक्दैन उसको सहयोग, उसको रोदन पुछिदिने, घाउमा मल्हमपट्टी लगाइरहेको देख्दा आँखालाइ सितल भयो । यो पेजमा घाइते र बिरामी पशु चौपायाको उपचार गरेका धेरै तस्वीरहरु देखिन्छन् । सुरुवात कहाँबाट, कसले गर्यो ?
I CARE YOU नामको पेज कसले, कहाँबाट चलाइरहेको छ भन्नेबारे निकै खोजतलास गर्ने क्रम सुरु भयो । खोजीकै क्रममा सोधपुछ गर्दा गर्दै मुख्य व्यक्तिसम्म पुग्न सफल भए । घरमा पुग्दा अचम्मका दृष्यहरु देखें । घरभरी उद्दार गरिएका कुकुर र बिरालाको ताँती, घरको गेटमा लगाइएको टेन्टमूनि एक गाइको बाच्छाको खुट्टामा बाधिएको पट्टी । मानौं, यो पशु अस्पताल जस्तै देखिन्थ्यो । जहाँ बिरामी र घाइते जनावरहरुको उपचार भइरहेको छ ।
हामीलाई यहाँका दृष्यहरुलाई केलाउँदै यसका बारेमा थप जान्ने उत्सुकता जाग्यो । अवकाश प्राप्त शिक्षक मञ्जु शाहीको दैनिकी घाइते र बिरामी जनावरहरुको उपचार र स्याहारसुसारमै बित्ने गरेको रहेछ । भीमदत्त नगरपालिकास्थित कञ्चनपुर निवासी मञ्जु २०६५ सालदेखि निरन्तर यही कर्ममा समर्पित भएकी छन् । उनी यो कर्ममा लागेको १५ बर्ष बितिसक्यो, तर मञ्जुलाई भने १५ बर्ष बितेको पत्तो छैन, हिजोजस्तै लाग्छ ।
२०६५ सालको हिउँदयाममा विद्यालय गइरहेका बेला एउटा बिचित्रको दृष्यले मञ्जुलाई यस कर्ममा लाग्न अभिप्रेरित गरेको रहेछ । उनले भनिन्, ‘म विद्यालय गइरहेको थिए, रगतले लत्पतिएको गाई र बाच्छाबाच्छी सँगै हिँडिरहेका थिए । अलि टाढाबाट हेर्दा धुँवा उडेजस्तो देखें । जब नजिक पुगें, एउटा बाच्छाको शरीरबाट रगत बगिरहेको देखें । मन निकै आत्तियो, के गरुँ कसो गरुँ भयो । त्यो गाईलाई समातेर केही गर्नुपर्यो भन्ने सोचें ।’
उनले कपास र डिटोल खोजेर गाईको शरीरमा भएको घाउ सफा गरिने, रगत बग्ने क्रम बिस्तारै कम हुँदै गयो । ‘रगत बग्ने क्रम रोकिएपछि औषधि र मल्हमपट्टी गरेर विद्यालयतिर लागे,’ उनले भनिन्, साँझ घाउँ निकै ओभानो भइसकेको थियो, फेरि औषधि र मल्हमपट्टी गरेर घरतिर लागे । त्यो दिन निकै आनन्द लाग्यो, रातभर निद्रा लाग्यो, मन शान्त थियो ।’ भोलिपल्ट विद्यालय जाँदा पनि मञ्जुको कर्म उसैगरी दोहोरियो ।
त्यो घाइते बाच्छी फेरि स्याहार गरेर दिनभर आफ्नो कर्ममा ब्यस्थ भइन् । केही दिनपछि त्यो बाच्छी पूर्णरुपले निको भएको देख्दा मञ्जु निकै खुशी थिइन् । ‘त्यो दिन मेरो खुशीको सीमा थिएन । त्यही घटनाले मलाई आवाजविहीन जनावरहरुको आवाज बन्न प्रेरित गरेको थियो,’ उनले भनिन् । २०६५ सालदेखि अहिलेसम्म निरन्तर यही कर्ममा क्रियाशिल मञ्जुलाई घाइते र बिरामी पशुहरु मैले मात्र देख्छुकी जस्तो लाग्छ ।
‘शरीरभर चोट लागेका, हिँड्डुल गर्न नसक्ने, खान नसक्ने, शरीरभर किरा परेका धेरै जनावरलाई सञ्चो पारेका छौं,’ मञ्जु भन्छिन्, ‘एउटा घटनाका कारण मैले यो कर्म गर्दैगर्दा अहिले सेवा गर्ने भावनाले धेरै व्यक्तिहरु जोडिँदा निकै खुशी छु ।’ अहिले यो समुहमा मञ्जु मात्रै एक्लो छैनन् । मञ्जुका अनुसार अहिले नयाँ युवापुस्ता जोडिने क्रम निरन्तर चलिरहेको छ । अहिले यो समूहमा सात जना युवाहरु क्रियाशिल भएका लागिपरेका छन् ।
मञ्जुसँगै सरिता रावल, विष्णुप्रसाद पनेरु, सुरज कुवर, रिता अवस्थी, सुदीप क्षेत्री, रबिन उपाध्याय यो समूहमा आवद्ध भएर आवाजविहीनको आवाज बनेका छन् । ‘युवाहरुसँग काम गर्दा अझ नयाँ नयाँ कुरा सिकिरहेकी छु । हामीले गरेका कामका बारेमा सबैलाई जानकारी होस् भन्ने उद्देश्यले I CARE YOU नामक फेसबुक पेज बनाएर फोटो र भिडियोहरु राख्न थालेपछि अहिले यो व्यवक्ति विशेष नभएर अभियान नै बनेको छ,’ मञ्जुले भनिन् ।
आफ्नो कामले सार्थकता पाएकोमा निकै आनन्द महसुस हुने गरेको मञ्जुले बताइन् । आफूहरुको अभियान अहिले घर–घरमा पुगेको छ । ‘अहिले सबैको घरमा घाइते कुकुर, गाई लगायतका जनावरहरु देख्न सकिन्छ । हामी आ–आफ्नो पेशमा आवद्ध छौं, तर समयलाई व्यवस्थापन गरेर घाइते जनावरहरुको सेवामा जुट्ने गरेका छौं,’ मञ्जुले भनिन् । उनले सुरुका दिनमा व्यक्तिगत रुपमै औषधि किनेर उपचार पनि गरेको बताइन् ।
पछिल्लो समयमा मञ्जुसँगै यही कर्ममा क्रियाशिल भएर लागिपरेकी सरिता भन्छिन्, ‘सुरुमा त हामीले निकै अभाव झेलेका थियौं । आफ्नै गोजीको पैसाले औषधी किनेर उपचार गरेका थियौं, सेवाको सिमाना र दायरा बढ्दै गएपछि अहिले मनकारी व्यक्तिहरुले दान गरिदिनु हुन्छ, जसले केही सहजीकरण र सहयोग भएको छ ।’ सरिताले आफूहरु पैसामूखी नभई आत्मशान्तिका लागि सर्मपित भएकाले यो अभियानलाई संस्थामा परिणत गर्न मन नलागेको बताइन् ।
‘कहिलेकाँही आफ्नो दायरा र क्षमताले नभ्याउँदा दानलाई स्वीकारेका छौं । अहिले यो अभियाज कञ्चनपुर जिल्लाभर फैलिएको छ । त्यसैले पनि दाताहरुको सहयोगलाई स्वीकारेका छौं,’ उनले भनिन्, ‘तर, अलि टाढा जानुपर्दा विशेषज्ञ डाक्टरलाई नै लैजानुपर्ने हुन्छ, त्यस्तो अवस्थामा दाताको सहयोग हाम्रा लागि अमृतजस्तै हुन्छ,’ सरिताले भनिन्, ‘दाताहरु कसले के–कसरी सहयोग गर्नुहुन्छ, त्यो सबै फेसबुक पेजमा सार्वजनीक गर्ने गरेका छौं ।’
जिल्लामा पुग्न सक्ने ठाउँसम्म आफूहरुले सेवा दिइरहेको सरिताले बताइन् । आफूहरुले गरेको काम सबैले देखे पनि कसैले चासो नदिँदा मञ्जुको मन कटक्क दुख्छ । उनले भनिन्, ‘नगरपालिकाले त चासो दिँदैन, अरुको के आशा र अपेक्षा गर्नु ?’ अहिले छाडा पशु चौपाया जताततै छन्, उनीहरुको घर नै सडक हो । यसले पनि सडक दुर्घटना बढेको देखिन्छ । ‘मान्छे घाइते हुँदा अस्पताल जान्छ, ती अबोध जनावर सडकमै छटपटाउनुपर्छ,’ मञ्जु भन्छिन् ।
घाइते र हिँड्न नसक्ने पशु चौपायाहरुको अवस्थाका बारेमा आफू र आफ्ना समुहका सदस्यहरुलाई फोन आउने गरेको मञ्जु बताउँछिन् । उनले भनिन्, ‘त्यस्ता पशु चौपायाको उद्दारका लागि हामी जहिले ‘अलर्ट’ हुन्छौं । लामो समयसम्म उपचार गर्नुपर्ने अवस्था घाइते र बिरामी पशुलाई घरमा राखेर वा त्रिपालमा राखेर उपचार गरिरहेका छौं ।’ अब त घरमा राख्न सक्ने अवस्था पनि नरहेको मञ्जु बताउँछिन् ।
उनलाई लाग्छ, स्थानीय सरकारले थोरै जग्गा जमीनको व्यवस्था गरिदिए घाइते पशु चौपायालाई एकै ठाउँमा राखेर उपचार गर्न सजिलो हुन्थ्यो । ‘स्थानीय सरकारले प्रयोगका लागि सार्वजनीक जग्गा उपलब्ध गराए हामी त्यही टेण्ट लगाएरै भए पनि उपचार गर्न सक्थ्यौं,’ मञ्जु भन्छिन्, ‘दुध खादासम्म खाने दुध दिन छाडेपछि गाईलाई छाडिदिने ? फेरि दुध दिन सुरु गर्दैछ भन्ने थाहा पाएपछि मेरो हो भन्दै घर लैजान आउँदा कहिलेकाँही निकै रिस उठ्छ ।’
मञ्जुले भनिन्, ‘कृष्णको भक्त हुँ, राधे राधे, ओम शान्ति भन्दै भगवानको नाममा चन्दा उठाएर यी अबोध जनावरका बारेमा नबोल्नेहरुको चेतना अनि दरिद्रता देखेर अचम्म लाग्छ ।’ कहिलेकाँही घाइते जनावरको रात दिन सेवा गर्दा पनि सन्चो नहुँदा मनमा निरास हुने गरेको सरिताले सुनाइन् । ‘यतिसम्म जनावरले चिनिसकेका छन्, छेउमै टाँसिन आउँछन् । अहिले हामी सबै लुम्फी रोगको भ्याक्सिन लगाउन व्यस्त छौं,’ सरिताले भनिन्, ‘भ्याक्सीन लगाउनकै लागि आफ्नो गाईबस्तु पनि मेरो होइन भनेर आफूहरु कहाँ ल्याइदिने गरेका छन् ।’
यो अभियान समुहले विरामी र घाइते पशु चौपायाको उपचारका साथै अन्य सामाजिक कामहरु पनि गर्दै आएको छ । पछिल्लो समयमा यो अभियानमार्फत लुगाहरु र भाडाहरु संकलन गरेर गरिब, बिपन्न, भूकम्प तथा बाढीपीडित परिवारलाई वितरण गरिरहेको छ । यो अभियानलाई सबैले साथ दिनुहोला । स्थानीय, प्रदेश, संघीय सरकारका साथै यस क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको पनि ध्यान जाओस् । I CARE YOU लाई हाम्रो पनि शुभकामना ।।
रितु खड्का पाल । कञ्चनपुर