सूचनाको शक्ति - The Power Of Information

        

एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित

राष्ट्रियसभाकाे बैठक आज साेमवार पनि स्थगित भएकाे छ । सुन तस्करी प्रकरणको बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित भएको हाे ।

सुन काण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नहुने भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने माग गरेर एमालेले यही साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अवराेध गर्दै आएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक पर्सि बुधवार बस्ने छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध र दबाबको शैलीलाई परिमार्जन गर्दै बैठक अगाडि बढाउन आग्रह गर्दै बारम्बार प्रतिपक्षी सांसदलाई बस्न आग्रह गर्नुभएको थियो ।

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो । तस्करहरूले हङकङबाट नेपाल ल्याएको सुन प्रकरणमा विमानस्थल भन्सारका तीन जना कर्मचारीसहित १८ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १४:२४