सूचनाको शक्ति - The Power Of Information

        

पूर्वका ९ जिल्लामा सङ्घीय लिम्बुवानलगायत ६ दलको बन्द

राष्ट्रिय जनमुक्ति पार्टीसहितको ६ दलले गरेको बन्दकाे आह्वानले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

लालमोहर दिवसको अवसरमा आज लालमोहर सन्धिको मर्मअनुसार अरुणपूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा जिल्लालाई लिम्बुवान राज्य बनाइनुपर्ने माग राख्दै बन्दकाे आह्वान गरिएको हो ।

बन्दले पूर्वका नौ जिल्लामा लामो तथा छोटो दूरीका यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दको कार्यक्रमलाई विभिन्न पहिचानवादी पार्टी र सङ्घ–सङ्गठनले ऐक्यबद्धता जनाउँदै सहयोग गरेका छन् ।
साउन २२ गते लालमोहर दिवस, तत्कालीन गोरखा राज्य र लिम्बुवानबीच सन्धि भएको ऐतिहासिक दिन हो ।

इतिहास अनुसार वि.सं.१८३१ साउन २२ गतेका दिन तत्काली किराँत लिम्बुवान राज्य स्वायत्तता र आत्मनिर्णयको अधिकार उपभोग गर्न पाउने गरी तत्कालीन गोरखा राज्यमा गाभिएको थियो । त्यहीँ सन्धिलाई वि.सं.१८३१ को लालमोहर सन्धि भनिन्छ ।

लालमोहर सन्धिको मर्म र ऐतिहासिक दसिप्रमाणको आधारमा अहिलेको सङ्घीय संरचनामा अरुणपूर्वका नौ जिल्लालाई समेटेर छुट्टै लिम्बुवान राज्य निर्माण गरिनुपर्ने उनीहरुको माग छ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १३:५८