सूचनाको शक्ति - The Power Of Information

        

महिलाकै नाममा किन खोलिन्छ अश्लिल अकाउन्ट ?

नेपालका आधाभन्दा धेरैले सामाजिक सञ्जाल प्रयोग गर्छन् । कसैले फेसबुक त कसैले इन्स्टाग्राम । टिकटकमा त सबैलाई लतझैं लागिसकेको छ । इन्टरनेटको पहुँच वृद्धि हुँदै गर्दा विभिन्न कम्पनीले नयाँनयाँ एप सार्वजनिक गरिरहेका छन् ।

सूचना प्रविधिको विकास हुनु राम्रो कुरा हो । प्रविधिकै कारण एउटा कुनामा बसेर विश्वका खबर आदानप्रदान गर्न सम्भव भएको छ । पठन–पाठन गर्ने, विभिन्न विषयमा जानकारी लिने इन्टरनेट सबैभन्दा राम्रो माध्यम हो ।

तर, पछिल्लो समय इन्टरनेट अध्ययनमा होइन, सामाजिक सञ्जालका लागि प्रयोग गर्न थालिएको छ । सामाजिक सञ्जालबाट पनि धेरै कुरा सिक्न र सिकाउन सकिन्छ । तर, अहिलेको अवस्थालाई ध्यानमा राख्ने हो भने सामाजिक सञ्जालको सदुपयोगभन्दा पनि दुरूपयोग बढ्दो छ ।

अछामको मेल्लेख गाउँपालिका–४, ठाँटीकी ५४ वर्षीया महिलाले टिकटक चलाउनका लागि भैंसी बेचेको घटनाले केही समयअघि निकै चर्चा पाएको थियो । मोबाइल रिचार्ज गर्दागर्दै ५० हजार रूपैयाँ ऋण लागेपछि उनले भैंसी बेचेकी थिइन् ।

सामाजिक सञ्जालप्रति सर्वसाधारणको मोह बढ्दै गर्दा यसलाई कसरी नियमन गर्ने ? भन्नेतिर गम्भीर हुन जरुरी देखिन्छ । भनिन्छ नि, ‘चिनी ठिक्क खायो भने मीठो हुन्छ, नत्र रोग लाग्न सक्छ ।’ सामाजिक सञ्जाल पनि त्यस्तै हो ।

सदुपयोग गरे फाइदा हुन्छ, दुरूपयोग गरे फस्न बेर लाग्दैन । सामाजिक सञ्जालबाटै धेरै आपराधिक क्रियाकलाप हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ । सामाजिक सञ्जालबाट महिलाहरू हिंसामा परिरहेका छन् ।

चरित्रहत्या गर्ने, एउटाको शरीरमा अर्कोको टाउको लगेर जोडिदिने, ब्ल्याकमेलिङ गर्नेलगायत अनैतिक क्रियाकलाप सामाजिक सञ्जालमार्फत भइरहेका छन् । बालबालिका ‘साइबर बुलिङ’ मा परिरहेका छन् ।

अश्लिल सामग्रीको बाढी

फेसबुक हेरौं या टिकटक, अश्लिल सामग्रीबाहेक केही भेटिँदैनन् । टिकटकमा त झन् हेर्नै नसकिने सामग्री सार्वजनिक गरिएको हुन्छ । सामाजिक सञ्जालमार्फत घृणायुक्त अभिव्यक्ति दिने काम पनि भइरहेका छन् । अरूलाई गाली गर्ने र लाञ्छना लगाउने माध्यम बनेको छ, सामाजिक सञ्जाल ।

यता, ‘फेक’ आइडी खोलेर अश्लिल सामग्री पोष्ट गर्ने क्रम ह्वात्तै बढेको छ । सरकारी संयन्त्रलाई समेत नक्कली आइडी नियन्त्रण गर्न सकस परेको छ । फेसबुकमा नक्कली आइडी खोलेर अश्लिल भिडियो पठाई हैरान पारेको घटना धेरै छन् । नक्कली आइडीमार्फत हेर्न पनि नसकिने भिडियो पोष्ट गरिन्छ ।

डा.सरिता क्षेत्री रुञ्ची र सपनाको नाममा खोलिएको ट्विटर आइडीमा गत हप्ता छुट्टाछुट्टै अश्लिल सामग्री पोष्ट भयो । जसमा लेखिएको छ, ‘दिनभरि सुत्ने, रातभरि उठ्ने, पाए घोच्ने, नपाए सोच्ने के हो ?’ सँगै एकदमै आपत्तिजनक तस्बिर पनि सार्वजनिक गरिएको छ ।

साउन ८ गते वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाको नाममा समेत गलत सूचना सार्वजनिक भयो । डिजिटल माध्यमबाट हुने गतिविधिलाई नियमन गर्न ‘विद्युतीय कारोबार नियमावली, २०६४’ छ । त्यस्तै, ‘विद्युतीय कारोबार ऐन, २०६३’ पनि रहेको छ ।

सचेतना नआएसम्म यस्तै हो : साइबर ब्युरो

नेपाल प्रहरीको साइबर ब्युरोले मानिस सचेत नभएसम्म सामाजिक सञ्जालको दुरूपयोग नरोकिने र कम पनि नहुने बताएको छ । ब्युरोका सूचना अधिकारी पशुपति रायले साइबर अपराधमा दैनिक १० जना बढी पक्राउ पर्ने गरेको जानकारी दिए ।

उनले भने, ‘सामाजिक सञ्जालमार्फत झन् बढी अपराधका घटना घटिरहेका छन् । हामी आफैं आश्चर्यचकित छौं ।’ ‘फेक’ अकाउण्ट कुनै पनि हालतमा नियन्त्रण गर्न नसकिने उनको जिकिर छ । महिलालाई हैरान पार्ने, अश्लिल सामग्री पोष्ट गर्ने, अनलाइनमार्फत ठगी गर्नेहरू दिप्सना मगरका नाममा पुरुषलाई हनिट्यापको शिकार बनाउनेहरू सबैभन्दा धेरै पक्राउ पर्ने गरेको उनी बताउँछन् ।

‘चिन्नु न जान्नुको मान्छेलाई फेसबुकमा साथी बनाएको हुन्छ । नचिनेको भए पनि आफ्नो सम्पूर्ण कुरा खोल्छन् । भोलि त्यसले नै ब्ल्याकमेल गर्न सक्छ भनेर सोच्दैनन् । अनि यस्ता घटना घटिहाल्छ नि !’ उनले भने ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ०७:०२