देशका विभिन्न भू–भागमा गएराति भारी वर्षा भएको छ । नवलपरासीको परासी, रूपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपास भारी वर्षा भएको छ । उक्त जिल्ला तथा आसपास भएर बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले ६ घण्टा सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुममान महाशाखाले जनाएको छ ।
झापाको बुधबारे, शनिश्चरे, विर्तामोड र आसपासमा पनि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेको छ । त्यसैले विरिङ, अदुवाखोला लगायत आसपासका खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन पनि बाढी पूर्वानुममान महाशाखाले आग्रह गरेको छ । त्यस्तै भोलि मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं