सूचनाको शक्ति - The Power Of Information

        

आँखा पाके के गर्ने, के नगर्ने ?

हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ ।

विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो ।

काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ ।

एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धेरै जनामा हुन सक्छ । पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ । हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ ।

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसका लक्षणहरु

– आँखा रातो हुने र चिलाउने
– आँखाबाट आँसु बगिरहने वा कचेरा र चिप्रा लाग्ने
– आँखाको ढकनी रातो हुने, सुन्निने
– आँखा बिझाउने र दुख्ने
– घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

रोकथामका उपायहरु

– संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने
– संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने
– जथाभावी आँखा नछुने । आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने
– व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

भाइरल कन्जंक्टिभाइटिस भइहाले अत्तिनुपर्दैन । यो रोग १ देखि २ हप्तामा आफैं निको हुन्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग गर्नुहुँदैन ।

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस लागेमा के गर्ने ?

– भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैँ निको हुन्छ ।
– घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु
– बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने ।
– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने ।
– आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने ।
– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।
– संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धु वा सफा गर्ने ।
– प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने ।
– संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ०६:१३