सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कार दुर्घटना

मामाघर पुगेका दाजुबहिनी घर फर्किंन पाएनन्, नेपालगन्ज शोकमग्न

दुर्घटनाको खबरले नेपालगन्जको त्रिभुवन चोक क्षेत्र शोकमा डुबेको छ ।

एकै परिवारका चारसहित ६ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगन्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगन्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् ।

शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किने क्रममा भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी अल्पायुमै निधन भयो । आमा सीता गुप्ता माइतीमै रहेकाले सुरक्षित छन् ।

उक्त कार दुर्घटनामा निलान्स र सुनितीसँगै बलरामपुर ससुरालीबाट श्रीमती र छोराछोरी लिएर नेपालगन्ज घर फर्किंदै गरेका वैभव गुप्ताको परिवारका चारै जनाको दुःखद निधन भएको छ । शनिबार साँझ भएको यो दुर्घटनाले नेपालगन्जको त्रिभुवनचोक शोकमग्न हुन पुगेको छ ।

नेपालगन्जको त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक निलान्स र सुनितीका पिता सन्तोष गुप्ताले दुई परिवारका छ जना एउटै गाडीमा शनिबार बिहान बलरामपुर पुगेर साँझ घर फर्किंने गरी यात्रा गरेको जानकारी दिए ।

शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न तथा वैभव माइतीमा रहेकी श्रीमती दीपिकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो । दुर्घटनाको खबरले नेपालगन्जको त्रिभुवन चोक क्षेत्र शोकमा डुबेको छ ।

त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । गुप्ताको घरमा आफन्तजन र स्थानीयको भीड लागेको स्थानीय दिपानन्द गुप्ताले बताए । एकै परिवारका चारसहित ६ जना गुमाउनुपर्दा आफन्तजन र स्थानीय छरछिमेकी शोकमग्न भएका छन् ।

स्थानीय ब्राइटल्याण्ड कलेजमा बीबीएसमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएका छन् । घटनाले स्तब्ध हुन पुगेका साथीहरु बिहानैदेखि सुनितीको घरमा जम्मा भएको सहपाठी आकृति रानाले बताइन् ।

भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी औषधि व्यवसायी दिनेश गुप्ताका छोरा ३५ वर्षीय वैभव गुप्ता, वैभवकी श्रीमती ३२ वर्षीया दीपिका गुप्ता, ३ वर्षीय छोरा डल्लु र ६ महिनाकी छोरी श्रीया तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स र छोरी २० वर्षीय सुनितीको निधन भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक भारतीय नागरिक अजय मिश्रको उपचार भइरहेको छ । मृतकको भारतको बहराइचमा शव परीक्षण भएपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार १८:३१