सूचनाको शक्ति - The Power Of Information

        

जनशक्तिकै अभाव

क्यान्सर अस्पताल खजुरामा स्थायी दरबन्दी शुन्य

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बार्षिक ३० हजार बिरामीको उपचार हुँदै आएको छ ।

बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीको उपचार गरिरहेको छ । यति ठुलो सङ्ख्यामा क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र छन् । अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन ।

काज र करारमा रहेका चिकित्सक र कर्मचारी पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.नीरज भट्टराईले दैनिक २०० देखि ३०० बिरामी उपचारका लागि आउने सो अस्पतालमा एक जना पनि स्थायी दरबन्दी नभएको जनाउँदै काज र करारमा रहेको जनशक्ति पनि निकै अपुग रहेको बताए ।

उनले अस्पतालमा हाल चिकित्सक र कर्मचारी गरेर ११० जना रहेको जनाउँदै आफूले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ४०० जनशक्ति आवश्यक रहेको ठहर गरी सरकारसँग माग गरेको बताए । डा.भट्टराईका अनुसार हाल अस्पतालमा अधिकृतस्तरका चिकित्सक र कर्मचारी ४५ जना करारमा रहेकामा २७ जना थप माग गरिएको, ५८ जना सहायकस्तरका कर्मचारी करारमा रहेकाले ३४ जना थप माग गरिएको छ ।

साथै सबै चिकित्सक र कर्मचारीलाई स्थायी दरबन्दी कायम गरेर पठाउन मन्त्रालयमा माग गरिएको छ । बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको र हाल १५ जना विशेषज्ञ चिकित्सक काज र करारमा रहेकामा थप छ जना माग गरिएको र पाँच जना मेडिकल अफिसर रहेकामा थप दुई जना माग गरिएको छ ।

पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरेर तीन वटा प्रदेशको ४० जिल्लाका क्यान्सर रोगका बिरामीको उपचार गर्दै आएको एक मात्र सो अस्पतालले गत आर्थिक वर्षमा २९ हजार २५५ जना क्यान्सरका बिरामीको उपचार गरेको छ । अस्पताल प्रमुख डा.भट्टराईका अनुसार सो अस्पतालले विभिन्न सेवा सुविधामार्फत उपचार गर्न थालेपछि पश्चिम नेपालको तीन वटा प्रदेशका करिब ३० हजार बिरामीलाई उपचार सहज भएको छ ।

यसअघि तीन प्रदेशका बिरामीलाई क्यान्सर उपचारका लागि चितवन, काठमाडौँ वा भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता रहेकामा अब सो बाध्यता समाप्त भएको अस्पतालले जनाएको छ । गत आवमा ७३१ जना बिरामीको शल्यक्रियासहितको उपचार पनि गरिएको अस्पतालले जनाएको छ । तीमध्ये केही शल्यक्रिया अति नै जटिल किसिमका र काठमाडौँमा समेत नभएको शल्यक्रिया सेवा पनि गरिएको जनाइएको छ ।

यसैगरी ब्लड क्यान्सर वार्ड नै सञ्चालन गरेर ब्लड क्यान्सरको पनि उपचार सुरु गरिएको छ । अस्पतालमा दुई वटा अत्याधुनिक अपरेसन थिएटर, भिडियो एक्सरे र सिटी स्क्यान पनि सुचारु रहेको छ । अस्पतालमा किमो सेवा, ब्राकी थेरापी, दूरबिन प्रविधिबाट पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया, हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार १८:०२