सूचनाको शक्ति - The Power Of Information

        

मलको अभाव पूरा गर्न ‘जैविक सम्पूर्ण मल’

रासायनिक मलको अभाव पूरा गर्न मकवानपुरमा अर्गानिक मल उत्पादन हुने भएको छ । राजेश्वर बायो फर्टिलाइजर्स कम्पनीबाट भदौदेखि सो मल उत्पादन हुने भएको छ । राजेश्वर बायोका प्रमुख हृदयराज गौतमले नेपालमा मलको आवश्यकता जति छ, त्यति मल उत्पादन गर्ने आफूहरूको लक्ष्य रहेको बताए ।

बर्सेनि हुने मलको हाहाकारलाई आफूहरूले रोक्ने प्रयत्न गरेको उनले बताए । पहिलो वर्ष दुई लाख मेट्रिक टन र दोस्रो वर्षदेखि बढाउँदै जाने र छैटौँ वर्षसम्म साढे सात लाख मेट्रिक टनसम्म मल उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । उनले भने, ‘नेपालमा सातदेखि आठ लाख मेट्रिक टन मलको आवश्यकता छ, त्यो हामीले पूरा गर्छौं र त्यसको तयारी लगभग पूरा भएको छ ।’

नेपालमा उत्पादन हुने अन्य अर्गानिक मलभन्दा आफूहरूको मल बिलकुल फरक रहेको दाबी गर्दै उनले आफूले उत्पादन गर्ने मल जैविकको सम्पूर्ण मल हुने दाबी गरे । आफूहरूले उत्पादन गर्ने मलमा नाइट्रोजन, फस्फोरस र पोटास एक साथ हुन्छन् । नेपालमा हालसम्म उत्पादन भएको अन्य मलभन्दा यसको गुणस्तर उच्च रहेको दाबी उनले गरे ।

आफूहरूले उत्पादन गर्ने मलको गुणस्तर एनपिके (नाइट्रोजन, फस्फोरस र क्यालिक) क्रमशः ३–२–३ रहेको छ, यो गुणस्तरको मल नेपालमा छैन भनी आफूहरूको दाबी रहेको उनले बताए । सम्भवतः नेपालको अर्गानिक मलमा एक साथ नाइट्रोजन, फस्फोरस र पोटास छँदै छैनभन्दा पनि हुन्छ ।

सरकारले अर्गानिक मलका लागि १–०.५–१ देखि ४–३–६ सम्म एनपिके रहने मापदण्ड बनाएको छ । त्यसमध्ये आफूहरूले उत्पादन गर्ने मलको एनपिके क्रमशः ३–२–३ रहेको छ, जो नेपालको हकमा उच्च गुणस्तर रहेको उनले दाबी गरे । रासायनिक मलको एउटैमा नाइट्रोजन, फस्फोरस र पोटास हुँदैन ।

युरियामा नाइट्रोजन, डिएपीमा फस्फोरस हुन्छ भने पोटास छुट्टै हुन्छ तर आफूहरूले एनपिके एउटैमा दिइरहेकाले त्यसलाई ‘जैविक सम्पूर्ण मल’ भनिएको उनले दावी गरे । आफूहरूको मल रौतहट, मकवानपुर र चितवनमा परीक्षण भइसकेको बताउँदै उनले किसानले पनि मन पराएका कारण मल उत्पादनमा जोड दिएको बताए ।

रासायनिक मल जस्तै उत्पादन दिन थालेपछि किसानले यो मल नै प्रयोग गर्ने भएपछि भदौदेखि उत्पादन सुरु गर्न लागेको उहाँले जानकारी दिए । सुरुमा तीन करोडको लगानी रहेको छ । उत्पादन वृद्धि गर्दै गएपछि लगानी पनि वृद्धि गर्दै जाने उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार १३:२८