सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि न्यायालय फेरि कामुकै भरमा

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व सम्हाल्दै छन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएपछि श्रेष्ठले आजदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्न लागेका हुन् । कार्कीको आज सर्वोच्च अदालतले बिदाइ गर्दैछ ।

कार्की अनिवार्य अवकाशमा गएपछि वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको रुपमा स्वतः न्यायपालिकाको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् । साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिसकेको छ ।

सर्वोच्चमा हाल बहाल रहेका १४ जना न्यायाधीशमध्येबाट परिषद्ले वरिष्ठतम् न्यायाधीश श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । तर उनको संसदीय सुनुवाइ पक्रिया बाँकी नै छ ।

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । उनी सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीश बन्नेछन् ।

प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानु एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । तर, संवैधानिक परिषद्ले ढिला गरी नाम सिफारिस गर्दा पुन एकपटक न्यायालय कामुकै भरमा पुगेको छ ।

अब संसदीय सुनुवाइ समितिले उजुरी आव्हानका लागि १० दिने सूचना जारी गर्छ । त्यसपछि उजुरीमाथि छलफल हुन्छ । छलफलपछि मात्रै श्रेष्ठको नाम अनुमोदन प्रक्रियामा जान्छ । त्यस बेलासम्म न्यायालयको नेतृत्व कामु प्रधानन्यायाधीशको रुपमा श्रेष्ठले सम्हाल्नेछन् ।

यसअघि २०७८ फागुन १ गते प्रधानन्यायाधीश रहेका चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग दर्ता भएपछि सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले करिब आठ महिना न्यायालयको नेतृत्व सम्हालेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार १२:३७